
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनगर पुगेकी छन् । घटनालगत्तै मन्त्रालयले मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिदै उपचारमा कुनै प्रकारको कमी हुन नदिन अस्पताल प्रशासनसँग छलफल गरेकी हुन् । घाइते तथा उनीहरूका परिवारसँग भेटका क्रममा मन्त्री मेहताले सरकार पीडितहरूको उपचार र सुरक्षामा संवेदनशील रहेको बताउँदै आवश्य सहजीकरण गर्ने बताएकी छन् । गम्भीर घाइतेहरूको उपचारमा मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको उनले बताइन् । स्वास्थ्य मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै मन्त्रालयले सम्बन्धित अस्पताल,जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै घाइतेहरूको उपचार प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको छ।


२- व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै गोल्छालाई गत बैशाख २२ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पहिलो पटक पक्राउ गरिएको थियो ।

३- कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि शाहीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए । ४२ सदस्यीय प्रदेश सभामा शाहीलाई नेकपा एमाले र नेकपाका २४ सांसदको समर्थन गरेको छ । शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए । शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् ।
४- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दुई दिनदेखि उत्पन्न तनावपूर्ण अवस्थाका क्रममा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिक गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिकको जिउधनको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको आरोप लगाएको छ। विवाद समाधानका लागि समयमै संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग, त्रास सिर्जना र दमनकारी शैली अपनाउँदा परिस्थिति थप तनावग्रस्त बनेको पार्टीको ठहर छ । पार्टीले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको तत्काल प्रभावकारी र निःशुल्क उपचार, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । एमालेले राज्यलाई दमनकारी शैली तत्काल रोक्दै संयमता अपनाएर समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ। साथै देवानगञ्ज र समग्र सुनसरीका नागरिकलाई कुनै पनि अफवाहको पछि नलागी धार्मिक, सामाजिक तथा जातीय सद्भाव, आपसी एकता र भाइचारालाई कायम राख्न आह्वान गरेको छ ।

५- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा निरन्तर सुख्खा पहिरो खसिरहेकाले आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले मंगलबार सूचना जारी गर्दै मुग्लिन बजार नजिक नारायणगढतर्फ सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको र पहिरो खस्ने क्रम अझै जारी रहेकाले मानवीय जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको जनाएको हो । प्रशासनका अनुसार यो निर्णय आज साउन १२ गते राति ८ बजेदेखि भोलि साउन १३ गते बिहान ५ बजेसम्म लागू हुनेछ। उक्त अवधिमा मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै चल्ने सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै थप सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र तथा जिल्ला प्रहरी कार्यालय चितवनसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
६- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतले भ्रमणको औपचारिक निमन्त्रणा गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको पुष्टि गरेका हुन् । प्रवक्ता जयसवालले पत्रकारले सोधेको प्रश्नको जवाफ दिनेक्रममा सो जानकारी दिएका थिए । यसअघि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले केहि समय अघि दिल्ली पुगेर प्रधानमन्त्री शाहको भ्रमणको विषयमा भारतीय सरकारका प्रतिनिधिहरुसँग छलफल गरेको विषय बाहिरिएको थियो ।


७- नेपाली काँग्रेस लुम्बिनी प्रदेश सरकारबाट औपचारिक रुपमा बाहिएको छ । नेकपा एमाले नेता चेतनारायण आचार्य नेतृत्वमा रहेको प्रदेश सरकारबाट काँग्रेसका पाँच मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् । काँग्रेस संसदीय दलको तर्फबाट पाँचै जनाको राजीनामा मंगलबार मुख्यमन्त्री आचार्यलाई बुझाइएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो । लुम्बिनी प्रदेशमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी रहेका थिए । अब लुम्बिनी प्रदेशमा एमालेकै नेतृत्वमा नेकपासँगको सहकार्यमा सरकार बन्ने भएको छ । नेकपासँगको सहमतिमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । ८३ सदस्यीय प्रदेस सभामा एमालेका २९, काँग्रेसका २७, नेकपाका १३ राप्रपाका ४, जसपा नेपाल र जनमतका ३-३, जसपाका २ र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक एक रहेका छन् ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी नेपालका जिल्लामा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी सभापति रवि लामिछानेले मंगलबार विज्ञप्ति जारी गर्दै घटनालाई अत्यन्त संवेदनशील र दुःखद भन्दै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । रास्वपाले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । रास्वपाले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसाबाट सम्भव नहुने स्पष्ट गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ । पार्टीले आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई साम्प्रदायिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधि नगर्न तथा अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाउन अपिल गरेको छ । रास्वपाले वर्तमान परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र अवस्था सामान्य बनाउन नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग माग गरेको छ । विज्ञप्तिमा रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवाद र सहकार्यमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ । साथै, यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बन्धित पक्षसँग आग्रह गर्दै रास्वपाले आफ्ना स्थानीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएको छ ।
९- दक्षिण जापानमा मंगलबार ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा त्रास फैलिएको छ । भूकम्पका कारण कुमामोटोस्थित एक मलमा धेरै मानिस फसेका छन् भने घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय समयअनुसार साँझ ४: २७ बजे जापानको क्युशु द्वीपको भित्री क्षेत्रमा भूकम्प गएको हो । भूकम्पपछि कुमामोटोको एयोन किनमेल केन्द्रमा विस्फोट भएको खबर पनि सार्वजनिक भएको छ । यद्यपि, विस्फोटको कारण र त्यसबाट भएको क्षतिको आधिकारिक पुष्टि भइसकेको छैन । भूकम्पपछि जापानी अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका थिए । तर, करिब एक घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको छ । सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा जान निर्देशन दिएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । जापान विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित मुलुकमध्ये एक हो । त्यहाँ प्रत्येक वर्ष औसतमा करिब एक हजार पाँच सय भूकम्पका घटना अभिलेख हुने गरेका छन् ।

१०- नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन भएपछि पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीका कामु मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार शोक प्रस्ताव पारित गर्न साउन १३ गते बिहान ८: ३० बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्नेछ । बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ । यसैबीच, वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साउन १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम तय गरिएको छ । श्रद्धाञ्जली कार्यक्रमपछि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।
११- राष्ट्रिय मानव अधिकार आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । आयोगले उक्त घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले देशभर आकस्मिकबाहेकका नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारमा गम्भीर असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ। आयोगले घटनाबारे स्थलगत अनुगमनसमेत गरेको जनाएको छ । आयोगका अनुसार स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र खटिने चिकित्सकमाथि कुटपिट हुनु र अस्पतालमा तोडफोड गरिनु निन्दनीय कार्य हो। यस्ता घटनाले अराजकतालाई प्रश्रय दिनुका साथै कानुनको शासनमाथि समेत चुनौती सिर्जना गर्ने आयोगको ठहर छ । त्यस्तै, घटनाको विरोधस्वरूप चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गर्दा धेरै बिरामी उपचारबाट वञ्चित भएको आयोगले जनाएको छ। अत्यावश्यक सेवाका रूपमा रहेको स्वास्थ्य सेवा बन्द गर्नु संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक तथा प्रचलित कानुनको भावना विपरीत हुने आयोगको भनाइ छ । आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिँदै अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ । साथै, आन्दोलनरत चिकित्सक, नेपाल सरकार, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई वार्तामार्फत समस्या समाधान गर्न र विरोधका कार्यक्रम सञ्चालन गर्दा आमनागरिकको स्वास्थ्य अधिकार प्रभावित नहुने वैकल्पिक उपाय अपनाउन आयोगले आग्रह गरेको छ ।
१२- त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ । सिआईबीका अनुसार साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘साङ्गठनिक व्यवहार’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक गरिएको घटनामा शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि पक्राउ परेका व्यक्तिमाथि अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान जारी रहेकै अवस्थामा घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरिएको सिआईबीले जनाएको छ । पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुलकुमार मिश्र रहेका छन् । उनलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट पक्राउ गरिएको हो । यस्तै, बाराको लिपनीमाल–१ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको सिआईबीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१३- नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो । श्रेष्ठलाई केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएका थिए । वरिष्ठ नेतामा मनोनयन भएको केही दिनमै उनको निधन भएको हो । कांग्रेसका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ ।त्यसपछि शवयात्रासहित उनको पार्थिव शरीर पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । श्रेष्ठ स्याङ्जाबाट प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री, शिक्षा मन्त्री बनेका थिए ।

१४- नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका एक करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयर ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, हाइड्रो र ट्रेडिङ बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको च भने लक्ष्मी उन्नति कोषको शेयर ९.१० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयर ६.०७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २७ करोड १४ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २१ करोड २१ लाख बराबरको कारोबार भएको छ ।
१५- जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य कुनै पनि सार्वजनिक वा निजी कार्यक्रममा डिजे बजाउन वा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको हो । प्रशासनले जिल्लाको शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ । सूचनाको उल्लङ्घन गर्दै डिजेको प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ । साथै, सबै जिल्लावासीलाई सूचनाको पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
१६- काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पाँचौं स्थानको खेलमा पनि अपराजित भएको छ । मंगलबार भएको पाँचौं स्थानको खेलमा नेपाल काजकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो । काजकिस्तानले २५-१८, २७-२५ र २५-२० ले नेपालमाथि जित हासिल गरेको छ । योसँगै नेपाल प्रतियोगितामा आफ्ना सबै ६ खेल हारेर पुछारमा रहदै समाप्त गरेको छ । त्यस्तै काजकिस्तान भने पाँचौं भएको छ । नेपालले यसअघि उज्बेकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने बंगलादेशसँग ३-२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४३ सयले घटेर २ लाख ८४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले घटेर तोलाको ४३१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४४५ मा कारोबार भएको थियो ।
१८- नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनामा संलग्नलाई कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको उल्लेख गरिएको छ । संघले उक्त घटनालाई अत्यन्तै गम्भीर भन्दै घोर भर्त्सना गरेको जनाएको छ । टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघले माग गरेको छ । यस्तै, चिकित्सकको मानमर्दन गर्ने कार्यमा संलग्न रहेको आरोप लगाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न संघले सरकारसँग माग गरेको छ । राज्यबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दमन भएको भन्दै त्यसको विरोधस्वरूप संघले आज मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने जनाएको छ। आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गर्दै यस आन्दोलनका कारण बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ । विज्ञप्तिमा बिरामीले भोग्नुपर्ने असुविधाको जिम्मेवारी नेपाल सरकार स्वयंले लिनुपर्ने पनि उल्लेख गरिएको छ ।
१९- आइसीसी विश्वकप लिग २ को जारी सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्रै बनाए पछि खेल ३ रनले हारेको हो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४५ रन बनाए भने कुशल भुर्तेलले ३४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ४१ रन र आरिफ सेखले ३८ तथास गुलशन झाले १९ रन बनाएका थिए । नामिबियाको लागि बलिङतर्फ ज्याक ब्रासेलले सर्वाधिक ३ विकेट लिए ।रुबेन ट्रम्पलमेनले २ विकेट लिए। टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउदै २११ रन बनाएको थियो । नामिबियाका लागि जान फ्राइलिंकले शतकीय पारी खेलेका थिए । उनले १४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी लोउरेन स्टीनकाम्पले ५९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ५ विकेट लिएका थिए । योसँगै करणले एकदिवसीय क्रिकेटमा आफ्नो १०० विकेट पुरा गरेका छन् । करणले ७२ खेलमा कुल १०३ विकेट लिएका छन् । उनी नेपालमा सय विकेट लिए सन्दीप लामिछानेपछि दोस्रो खेलाडी हुन् । सन्दीपले १५४ विकेट लिएका छन् । यो जितपछि नामिबिया ३१ खेलमा २६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ र नेपालको ३१ खेलमा २४ अंकसहित छैटौं स्थानमा झरेको छ । नेपालले सिरिजको अर्को खेल भोली नेदरल्याण्डससँग खेल्ने तालिका छ ।
२०- चिकित्सा शिक्षा सुधार, सुशासन तथा विभिन्न माग राख्दै धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सोमबार नेपाल सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि विभिन्न विषयमा सहमति जुटेसँगै उनको सत्याग्रह अन्त्य भएको हो । सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा तीन सय शैयाको शिक्षण अस्पतालसहित सञ्चालनमा ल्याइनेछ । चालु आर्थिक वर्षदेखि नै एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने सहमति भएको छ । त्यस्तै, विश्वविद्यालयसम्बन्धी कानुन संशोधनका क्रममा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटिने भएको छ । पदाधिकारीहरूको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न चालु संसद् अधिवेशनमै तीन महिनाभित्र संशोधन प्रस्ताव पेश गरिने सहमतिमा उल्लेख छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार चिकित्सा शिक्षाको सिट निर्धारण गरिने तथा निजी शिक्षण संस्थामा सिट वृद्धि नगरी सार्वजनिक शिक्षण संस्थाको सिट विस्तारमा अवरोध नपर्ने व्यवस्था गरिने भएको छ । साथै, चिकित्सासम्बन्धी शिक्षण संस्थालाई गैरनाफामूलक तथा सेवामूलक प्रणालीमा रूपान्तरण गर्ने विषयमा सुझाव दिन छ महिनाभित्र उच्चस्तरीय कार्यदल गठन गरिने सहमति भएको छ । यसैगरी विगतमा भएका जघन्य हत्या, आगजनी तथा लुटपाटका घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ व्यक्तिहरूबाट भएका भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गर्ने विषयमा पनि सरकार र डा. केसीबीच सहमति भएको छ ।




