चीनको छिङहाई प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प, १८ मिनेटको अन्तरालमा दुई धक्का

चीनको उत्तर–पश्चिमी प्रान्त छिङहाईमा मंगलवार भूकम्पका दुई शक्तिशाली धक्काहरू महसुस गरिएका छन् । चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) काअनुसार मंगलबार बिहान ११ः३४ बजे (बेइजिङ समय) छिङहाईको सिङ्हाई काउन्टीमा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार उक्त भूकम्पको केन्द्रबिन्दु ३५.३५ डिग्री उत्तरी अक्षांश र ९९.५८ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको जनाइएको छ ।

उक्त ५.८ म्याग्निच्युडको भूकम्प जानुभन्दा करिव १८ मिनेट अगाडि सोही स्थानमा ५.७ म्याग्निच्युडको अर्को भूकम्प गएको सीईएनसीले उल्लेख गरेको छ । छोटो समयको अन्तरालमा एकै स्थानमा दुईवटा भूकम्पका धक्काहरू मापन गरिएका हुन् ।