महाबौद्ध परम्परागत प्रवेश द्वार निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न्मब्र २७ ले वीर अस्पतालबाट महावौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेश द्वार निर्माण गरेको छ ।

नवनिर्मित द्वारको आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नवनिर्मित द्वारको समुदघाटन गरेकी छन् । त्यस अवसरमा महानगरपालिकाका पूर्व उपप्रमुख एवं प्रदेश सरकारका पूर्व मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष योगेशकुमार खड्गीसहित पदाधिकारी सहभागी थिए ।

उद्घाटन पछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक डंगोलले भनिन्, ‘यो द्वार निर्माण भएसँगै महाबौद्ध क्षेत्रको धार्मिक र पर्यटकीय महत्व थप उज्यालो भएको छ । यस्ता संरचनाले स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्नेछ ।’

काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मानिने महाबौद्ध क्षेत्रको पहिचान र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वडा नं. २७ ले ‘महाबौद्ध प्रवेश द्वार’ निर्माण गरेको बताउँदै वडाध्यक्ष खड्गीले, कलात्मक प्रवेश द्वारले यस क्षेत्रको ऐतिहासिक गरिमालाई थप उचाइ दिएको बताए । १ करोड ७ लाख ९४ हजार ८ रुपियाँ लागतमा परम्परागत नेवारी शैलीमा निर्माण गरिएको द्वार महावौद्ध र समग्र वडाकै पहिचान स्मारकका रुपमा बनाइएको खड्गीको भनाइ छ ।

प्रवेशद्वारको शीर्ष भागको केन्द्रमा तामाबाट निर्माण भएको बुद्धका आँखा अंकित, महाबौद्ध स्तूपको प्रतीक स्वरुप गजुर स्थापना गरिएको छ । आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार द्वारको शोभा बढाउन पञ्च बुद्धका मूर्तिहरू लहरै सजाएर राखिएको छ । धातुको ट्रस्ट र कङ्क्रीट बिममा आधारित प्यागोडा शैलीमा निर्माण गरिएको यस द्वारको छानो तामा र पित्तल मिसाएर बनाइएको छ । यसले द्वारलाई आकर्षक र भव्य देखाएको छ ।

भौतिक संरचनाका दृष्टिले प्रवेश द्वार अत्यन्त मजबुत र सुरक्षित रहेको आर्किटेक्ट इञ्जिनियर श्रेष्ठले जानकारी दिए । ठूला तथा साना सवारी साधनहरूको सहज आवतजावतलाई ध्यानमा राखेर यसको चौडाइ १२.८५ मिटर र जमिन सतहदेखि छानोमुनिसम्म ४ दशमलव २४ मिटर उचाइ छ । गजुरसम्म हेर्ने हो भने करिब ७ मिटर उचाइ छ । संरचनालाई भूकम्पीय दृष्टिकोणले सुरक्षित र टिकाउ बनाउन जमिनमुनि ६ मिटर गहिरो ‘पाइल फाउन्डेसन’ निर्माण गरिएको छ । श्रेष्ठका अनुसार द्वार निर्माण गर्दा यस प्रकारको फाउन्डेसन राखिएको यो नै पहिलो हो ।

परम्परागत शिल्प र आधुनिक प्रविधिको सम्मिश्रणबाट बनेको यो ‘सम्पदा द्वार’ले सांस्कृतिक सहरको चिनारीमा इटा थपेको छ ।