
काठमाडौँ । दक्षिण कोरियाको चर्चित पप सङ्गीत समूह बीटीएसले सन् २०२७ को ग्रामी अवार्डमा आफ्नो सङ्गीत प्रतिस्पर्धाका लागि नपठाउने घोषणा गरेको छ ।
समूहका सातै सदस्यले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटै संयुक्त वक्तव्य सार्वजनिक गर्दै यस वर्ष ग्रामी अवार्डका लागि आफ्नो सङ्गीत दर्ता नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

वक्तव्यमा भनिएको छ- ‘हामीले यस वर्ष ग्रामीमा सहभागी नहुने निर्णय गरेका छौँ । सङ्गीतलाई क्षेत्र वा भाषाका आधारमा विभाजन नगरी त्यसको मौलिकताका आधारमा सुन्न र माया गरियोस् भन्ने हाम्रो चाहना हो ।’
बीटीएसको पुनरागमन एल्बम ‘अरिराङ’ यस वर्षकै सबैभन्दा धेरै बिक्री हुने एल्बममध्ये एक बनेपछि उनीहरू एल्बम अफ द इयरलगायतका प्रमुख विधामा बलिया दाबेदार मानिएका थिए । एल्बमको मुख्य गीत ‘स्विम’ पनि अमेरिकी सङ्गीत सूचीमा पहिलो स्थानमा पुगेपछि ‘सङ अफ द इयर’को प्रतिस्पर्धामा रहने अनुमान गरिएको थियो ।


तर ग्रामीले हालै घोषणा गरेको सर्वोत्कृष्ट एसियाली पप सङ्गीत प्रस्तुति विधामा भने ‘स्विम’ समावेश हुन नसक्ने अवस्था थियो । ग्रामीको नियमअनुसार उक्त विधामा मनोनयन हुन गीतमा कुनै एसियाली भाषाको अर्थपूर्ण प्रयोग भएको हुनुपर्छ । ‘अरिराङ’ एल्बमका ८० प्रतिशतभन्दा बढी गीतका शब्द भने अङ्ग्रेजी भाषामा रहेका छन् ।

यस नयाँ विधाको घोषणापछि कोरियाली पप सङ्गीतका प्रशंसकमाझ मिश्रित प्रतिक्रिया आएको थियो । धेरैले यसले एसियाली कलाकारलाई सम्मान गर्नुको सट्टा छुट्टै वर्गमा सीमित गर्न खोजेको टिप्पणी गरेका थिए ।
बीटीएसका सदस्य आरएम, जिन, सुगा, जे–होप, जिमिन, भी र जङकुकले आफ्नो वक्तव्यमा भाषा र क्षेत्रको विषय उल्लेख गर्दै त्यही चिन्तालाई संकेत गरेका छन् । उनीहरूले आफ्ना प्रशंसक ‘बीटीएस आर्मी’ लाई धन्यवाद दिँदै सधैँ साथ र समर्थन गरेकोमा आभार व्यक्त गरेका छन् ।

ग्रामी अवार्ड आयोजना गर्ने रेकर्डिङ एकेडेमीले भने बीटीएसको निर्णयबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । सन् २०१३ मा स्थापना भएको बीटीएस विश्वकै सबैभन्दा सफल सङ्गीत समूहहरूमध्ये एक मानिन्छ । हाल जारी उनीहरूको विश्व भ्रमणले टिकट बिक्रीका हिसाबले चर्चित गायिका टेलर स्विफ्टको विश्व भ्रमणसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
बीटीएस सन् २०२१ मा पूर्ण रूपमा अङ्ग्रेजी भाषामा गाइएको ‘डाइनामाइट’ गीतमार्फत ग्रामी अवार्डमा मनोनयन हुने पहिलो कोरियाली पप समूह बनेको थियो । त्यसयता उनीहरूले उत्कृष्ट पप समूह तथा उत्कृष्ट सङ्गीत भिडियोलगायत विभिन्न विधामा थप मनोनयन पाए पनि हालसम्म ग्रामी अवार्ड जित्न सकेका छैनन् ।
यसअघि पनि द विकेन्ड, फ्र्याङ्क ओसन, मोर्गन वालन र विल स्मिथजस्ता कलाकारहरूले विभिन्न कारण देखाउँदै ग्रामी अवार्ड बहिष्कार गरेका थिए ।
यसैबीच, पछिल्ला वर्षहरूमा ग्रामीले कोरियाली पप सङ्गीतको बढ्दो प्रभावलाई समेट्ने प्रयास गर्दै मतदान गर्ने सदस्यमा कोरियाका चर्चित कलाकार र निर्माता थप्दै आएको छ। यस वर्ष पनि केही चर्चित कोरियाली कलाकारलाई मतदान अधिकार प्रदान गरिएको थियो ।





