
काठमाडौँ । नेपालमा पाटेबाघको अनुमानित संख्या बढेर ४२९ पुगेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालमा हाल ४०२ देखि ५०० को दायरामा रहने अनुमानसहित ४२९ वटा बाघ रहेको जनाएको हो ।

विभागका अनुसार नेपालमा बाघ पाइने पाँच राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा गरिएको सर्वेक्षणमा चितवनमा सबैभन्दा धेरै १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० वटा बाघ रहेको अनुमान गरिएको छ ।
राष्ट्रिय बाघ सर्वेक्षणका लागि सन् २०२५ डिसेम्बर १६ देखि सन् २०२६ अप्रिल २३ सम्म पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।

सर्वेक्षणका क्रममा ७ हजार ३९३ वर्ग किलोमिटर क्षेत्रलाई समेट्दै १ हजार ८४८ वटा ग्रिडमा ३ हजार ६९६ वटा स्वचालित क्यामेरा जडान गरिएको थियो। ती क्यामेराबाट ११ हजार ९११ वटा बाघका तस्बिर प्राप्त भएका थिए भने ३७३ वटा फरक–फरक बाघको पहिचान गरिएको विभागले जनाएको छ ।


उक्त तथ्याङ्कलाई वैज्ञानिक विश्लेषण विधिबाट मूल्याङ्कन गर्दा नेपालमा बाघको अनुमानित संख्या ४२९ पुगेको निष्कर्ष निकालिएको हो। बाघको घनत्व, बासस्थान र आहारा प्रजातिसम्बन्धी विस्तृत प्रतिवेदन भने पछि सार्वजनिक गरिने विभागले जनाएको छ ।
विभागका अनुसार बाघको संख्या वृद्धि हुनु बासस्थान संरक्षण, चोरी सिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण तथा जैविक मार्ग व्यवस्थापनलगायतका संरक्षण प्रयासको सकारात्मक परिणाम हो ।

आगामी दिनमा प्रदेश र स्थानीय तह, स्थानीय समुदाय तथा संरक्षण साझेदार संस्थासँगको सहकार्यमा मानव–बाघ सहअस्तित्व, बाघ संरक्षण, जनचेतना अभिवृद्धि, समस्याग्रस्त बाघको समयमै व्यवस्थापन तथा बाघमा आधारित पर्यापर्यटन प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाइने विभागले जनाएको छ ।
विभागले सर्वेक्षणमा सहयोग गर्ने राष्ट्रिय निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष नेपाल, जेड एस एल नेपाल, विभिन्न संरक्षण संस्था, अनुसन्धानकर्ता, विद्यार्थी, स्वयंसेवक तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरेको छ ।




