इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको पछिल्लो आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले इरानमाथि ‘कडा’ प्रहार गर्ने चेतावनी पुनः दोहो¥याउनुभएको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामी उनीहरूमाथि निकै कडा प्रहार गर्नेछौँ, किनभने अब हाम्रो प्रहार गर्ने पालो आएको छ ।

’ इजिप्टमा अमेरिकाको स्वामित्वमा रहेको एक तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) वाहक जहाजमाथि आक्रमण भएको जानकारी आफूले प्राप्त गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।

ट्रम्पले थप दाबी गर्दै भन्नुभयो, ‘आक्रमण हुँदैछ भन्ने कुरा उनीहरूलाई थाहा छ र उनीहरूले हामीलाई त्यसो नगर्न आग्रह गरिरहेका छन् ।’

अमेरिकी सञ्चारमाध्यमहरूले सामुद्रिक गुप्तचरी निकाय एम्ब्रेलाई उद्धृत गर्दै इजिप्टको एक बन्दरगाहमा भएको ड्रोन आक्रमणका कारण दुईवटा प्राकृतिक ग्यास वाहक जहाजमा आगलागी भएको जनाएका छन् । उक्त आक्रमणमा कम्तीमा एउटा जहाजमा प्रत्यक्ष क्षति पुगेको बताइएको छ। यद्यपि, एम्ब्रेले उक्त आक्रमणमा संलग्न पक्षको पहिचान भने खुलाएको छैन ।