
अमेरिकी केन्द्रिय बैंक ‘फेडरल रिजर्भ’ ले बुधबार संघीय कोषको ब्याजदरलाई पुनः यथावत राख्ने निर्णय गरेको छ । बजारको अपेक्षा अनुरूप नै फेडले ब्याजदरलाई ३.५ देखि ३.७५ प्रतिशतकै दायरामा कायम राखेको हो। यो लगातार पाँचौँ पटक हो जसमा बैंकले मौद्रिक नीतिमा कुनै परिवर्तन नगरी ‘पर्ख र हेर’ को रणनीति अवलम्वन गरेको छ ।
फेडका अध्यक्ष केभिन वार्सका अनुसार नीति निर्धारण समितिको बैठकमा ९–३ को बहुमतले ब्याजदर स्थिर राख्ने निर्णय भएको हो । बैठकपछि आयोजित कार्यक्रममा अध्यक्ष वार्सले भन्नुभयो, ‘अमेरिकी अर्थतन्त्रले हालैका चुनौतीहरूका बाबजुद पनि प्रभावशाली लचिलोपन प्रदर्शन गरिरहेको छ । आर्थिक वृद्धि सकारात्मक छ र श्रम बजारमा रोजगारीको अवस्था पनि सुदृढ देखिएको छ ।’


अध्यक्ष वार्सले बेरोजगारी दरमा खासै परिवर्तन नआएको उल्लेख गर्दै मुद्रास्फीति अझै पनि बैंकको २ प्रतिशतको लक्ष्यभन्दा माथि रहेको स्वीकार गर्नुभयो । उहाँले मूल्य स्थिरता कायम गर्न फेड पूर्ण रूपमा प्रतिवद्ध रहेको समेत दोहो¥याउनु भयो ।

यद्यपि, संघीय खुला बजार समितिका तीन सदस्यले भने ब्याजदरलाई २५ आधार बिन्दुले बढाउनुपर्ने धारणा राख्दै यस निर्णयको विपक्षमा मतदान गरेका थिए ।
आगामी महिनाहरूमा ब्याजदर वृद्धि हुनसक्ने सम्भावनाका बीच बैंकले हाललाई पुरानै दरलाई निरन्तरता दिएको हो । तथ्याङ्कअनुसार पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण अमेरिकाको उपभोक्ता मूल्य सूचकाङ्क जुन महिनामा ३.५ प्रतिशत कायम भएको छ, जुन मे महिनाको ४.२ प्रतिशतको तुलनामा न्यून हो । मुद्रास्फीतिमा केही कमी आएपनि यो फेडले निर्धारण गरेको २ प्रतिशतको सीमाभन्दा अझै माथि रहेकाले दबाब कायमै देखिएको छ ।





