
मध्यपूर्वमा इरानद्वारा गरिएको भनिएको ‘आकस्मिक आक्रमण’ अमेरिकी सेनाले विफल पारेको दाबी गरेसँगै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी कच्चा तेलको मूल्यमा करिब ५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार मंगलवार साँझ इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआर्जीसी) ले मध्यपूर्वमा तैनाथ अमेरिकी सुरक्षा फौजलाई लक्षित गरी विभिन्न ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै सेन्ट्रल कमाण्डले भनेको छ,‘इरानद्वारा प्रहार गरिएका सबै मिसाइलहरू सफलतापूर्वक विफल पारिएका छन् । अमेरिकी सुरक्षा फौज हाल उच्च शतर्कताको अवस्थामा रहेको छ ।’


यस सैन्य तनावको प्रत्यक्ष प्रभाव ऊर्जा बजारमा देखिएको छ । वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) को सेप्टेम्बर डेलिभरीका लागि कच्चा तेलको मूल्य ५.१ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ८३.३० अमेरिकी डलर पुगेको थियो । यद्यपि, कारोबारको पछिल्लो समयमा यो वृद्धिदर केही खुम्चिएर ३ प्रतिशतको हाराहारीमा सीमित भएको छ ।

यसअघि, अमेरिका र इरानबीचको तनाव मत्थर हुने र द्विपक्षीय वार्ता सुरु भई ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनमा आउने अपेक्षामा लगानीकर्ताहरू उत्साहित देखिन्थे । सोही सकारात्मक मनोविज्ञानका कारण विगत तीन कारोबार सत्रमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको थियो। मंगलबारको कारोबार बन्द हुँदासम्म डब्लुटीआई र ब्रेन्ट क्रुड दुवैको मूल्यमा ४ प्रतिशतभन्दा बढीको गिरावट दर्ता भएको थियो ।
ट्रेडिङ प्लेटफर्म ‘ट्राडु’ का बजार विश्लेषक निकोस जाबोरासका अनुसार मध्यपूर्वमा पुनः बल्झिएको यो तनावले तेलको बजारमा ‘रिस्क प्रिमियम’ बढाउन सक्छ। यदि तनाव थप उत्कर्षमा पुगेमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्न सक्ने प्रक्षेपण विश्लेषकहरूले गरेका छन् ।





