नेपालमा पर्यटनको प्रचुर सम्भावना, आगामी १० वर्ष ‘स्वर्ण युग’ हुनसक्छ : डा. जगदीप मेहता

इभेन्ट म्यानेजमेण्ट फेडरेसन (इएमएफ) ग्लोवलका अध्यक्ष डा. जगदीप मेहताले नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।
उहाँले आगामी १० वर्ष नेपालका लागि महत्वपूर्ण हुने बताउनुभएको हो । काठमाडौंमा आयोजित ‘इएमएफ ग्लोवल’ सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको प्रकृति, हिमालय, र धार्मिक सम्पदाको उचित बजारीकरण गर्नसके विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्न सकिने उल्लेख गर्नुभयो ।

सम्मेलनमा सहभागी हुन सात देशका प्रतिनिधिहरू नेपाल आएका छन् । ती प्रतिनिधिहरूले काठमाडौंका अतिरिक्त पोखरा र चितवनको समेत भ्रमण गरिरहेका छन् ।

डा. मेहताले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँको प्राकृतिक सुन्दरताले गर्दा सामाजिक उत्सव तथा ‘डेस्टिनेसन वेडिङ’ का लागि चार्टर उडानमार्फत पर्यटक ल्याउन सकिने सम्भावना औँल्याउनु भयो । नेपालको धार्मिक पर्यटनबारे चर्चा गर्दै डा. मेहताले पशुपतिनाथ मन्दिरको व्यवस्थापन र सरसफाईको प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पोखरामा प्रकृति र शान्त वातावरणसँगै रात्रिकालीन जीवन र क्यासिनोको पनि सुविधा छ, जसले गर्दा यो क्षेत्र पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति भएपनि पशुपतिनाथ क्षेत्रमा देखिएको व्यवस्थापन, स्वच्छता र अनुशासन निकै सराहनीय छ । यो सम्मेलनलाई हामीले व्यवसायीहरूको कुम्भ मेलाका रूपमा लिएका छौँ । यसले नेटवर्किङ र प्रविधिको आदानप्रदानमार्फत व्यवसायलाई विस्तार गर्न मद्दत पु¥याउँछ । तीन दिनको यो बसाइमा सहभागीहरूले व्यवसायका साथै नेपालका विभिन्न पर्यटकीय स्थलहरूको समेत अवलोकन गर्नेछन् ।’

इएमएफ ग्लोवलको यस १० औँ वार्षिक सम्मेलनमा टर्की, इजिप्ट, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स (युएई) र युरोपका विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ । डा. मेहताकाअनुसार यो सम्मेलन एक विश्वव्यापी प्लेटफर्म हो, जहाँ विभिन्न देशका व्यवसायीहरूले एक–अर्कासँग सहकार्य (कोलाबोरेसन) गर्न सक्छन् । उहाँले एडभेन्चर टुरिजम र हिमालय पर्वतमालाको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा जोड्नसके नेपाली पर्यटन व्यवसायीहरूले छिमेकी मुुलुकबाहेक अन्य महादेशबाट पनि ठूलो व्यापार भित्र्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ‘इभेन्ट डेस्टिनेसन’का रूपमा स्थापित गर्न र यहाँको पर्यटन पूर्वाधारको प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सम्मेलन ३० जुलाईबाट १ अगस्टसम्म काठमाडौंमा हुनेछ ।