
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको नीतिगत प्राथमिकतामा राख्दै दीर्घकालीन सुधारका लागि आवश्यक पहल अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयदेखि विश्वविद्यालयसम्म मानसिक स्वास्थ्यलाई प्रभावकारी रूपमा संस्थागत गर्न विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गरी नीति तथा कार्यक्रममा समावेश गर्ने बताएका हुन् । उनले विद्यार्थी, शिक्षक र अभिभावकमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न विद्यालय तथा विश्वविद्यालयमा मनोसामाजिक परामर्श सेवा विस्तार र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, मानसिक स्वास्थ्य विज्ञ, शिक्षाविद् तथा सरोकारवालाले मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएकाले यसको रोकथाम, पहिचान र व्यवस्थापनका लागि स्पष्ट नीति, पर्याप्त स्रोतसाधन र प्रभावकारी कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए । मन्त्रालयले अन्तरक्रियामा प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेट्ने जनाएको छ।





