रवि लामिछानेलाई मधेशवादी दलहरुले भने– ‘मधेशमा उत्पन्न परिस्थितिबारे सरकार निकै संवेदनहीन र गैरजिम्मेवार भयो’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी, सिरहालगायत पूर्वी मधेशका जिल्लामा बढ्दो धार्मिक तनाव र असहज बन्दै गएको सुरक्षा अवस्थाबारे मधेसवादी दलका नेताहरूसँग छलफल गर्नुभएको छ ।

धार्मिक विवादका कारण उत्पन्न तनाव न्यूनीकरण, साम्प्रदायिक सद्भाव कायम राख्ने उपाय तथा सरकारले तत्काल चाल्नुपर्ने कदमबारे बिहीवार सभापति लामिछानेले मधेशवादी दलहरुसँग परामर्श गर्नुभएको हो । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले रास्वपा सभापति लामिछानेले समस्या हल गर्न सुझाव मागेको बताउनुभयो । उहाँले मधेशमा तनाव बढिरहँदा पनि प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै सरकारको आलोचना समेत गर्नुभयउउो । उहाँले हिंसात्मक गतिविधिमा संलग्नमाथि कानूनी कारबाही गर्न तथा मधेशमा साम्प्रदायिक सद्भाव कायम राख्दै अवस्था सामान्य बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार बेल्कुल संवेदनहीन र गैरजिम्मेवार भएर काम गरिहेको छ । मधेश जलरिहँदा पनि प्रधानमन्त्रीलाई बोल्ने फुर्सद छैन । गृहमन्त्रीलाई पनि त्यहाँ के भइरहेको छ भनेर हेर्ने फुुर्सद भएन । अनि बोल्न र हेर्न फुर्सद नहुने यो कस्तो सरकार हो ? अझ मधेशबाट अपार जनमत लिएर बनेको सरकार पनि हो । त्यसैले हिंसात्मक गतिविधिमा संलग्नमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ । मधेशमा सम्प्रदायिक सद्भाव कायम राख्न राखि परिस्थिति सामान्य बनाउन सरकारलाई दिर्नेशन दिन्छौँ भन्नुभएको छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चन्द्रकान्त राउतले पाँच दिनसम्म पनि शव व्यवस्थापन हुन नसक्नु सरकारको गम्भीर कमजोरी भएको भन्दै यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले गोली चलाएको विषयमा सुरक्षाकर्मीको बयानले समेत तनाव बढिरहेको भन्दै सरकारले स्पष्टिकरण दिनुपर्ने कुरा छलफलमा राखेको बताउनुभयो । छलफलमा सभापति लामिछानेले सरकारलाई आवश्यक निर्देशक दिने बताएको राउतको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘रास्वपाका सभापतिज्यूले उत्पन्न समस्यालाई कसरी हल गर्न सकिन्छ भनेर हामीहरुसँग सुझाव लिनुभयो । एकदमे सकारात्मक पहल रह्यो । हामीले सरकारले तत्काल लिनुपर्ने कदमको बारेमा सुझाव दिएका छौँ । जस्तो कि पाँच दिनसम्म पनि लाश उठ्न सकेन । यस्तो कुरा त एकदुई दिनमै व्यवस्थापन गरिसक्नुपथ्र्यो । अर्को कुरा सुरक्षाकर्मीले आफूहरुले गोली नचलाएको बयान दिँदा दोष अर्को समूदायमाथि गइरहेको देखिन्छ । त्यसकारण यस्तो हुनुहुँदैन । र सरकार प्रवक्ताले बाहिरका सबै भ्रम चिर्ने गरि बोल्नुपर्छ भनेर नै हामीले सुझाव दिएका छौँ ।’

छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोलगायत अन्य  मधेशवादी दलका नेताहरू समेत सहभागी थिए ।