मधेशमा तनावबारे रवि लामिछाने– दोषको बाँडफाँड नगरौँ, पछि समीक्षा गरौँला

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा उत्पन्न धार्मिक तनावका कारण उत्पन्न वर्तमान परिस्थितिमा दोषी खोज्नेभन्दा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घटनाको नैतिक र राजनीतिक जिम्मेवारी कसले लिनुपर्ने हो ? भन्ने विषयमा समीक्षा गर्न रास्वपा गम्भीर रहेको पनि बतउनुभयो । सभापति लामिछानेले तत्काल दोषि को हो भनेर परिस्थितिलाई थप जटिल बनाउनुभन्दा धार्मिक सहिष्णुता कायम गर्नतर्फ ध्यान दिन सबैलाई आग्रह समेत गर्नुभयो । उहाँले सुनसरी र सिरहामा उत्पन्न परिस्थितिबारे मधेशवादी दलहरुसँग परामर्श समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भएका कमजोरीको समीक्षा पछि गरौँला, कसैले  केही कमजोरी गरेको रहेछ भने राजनीतिक र नैतिक रुपमा कहाँ जिम्मेवार गराउने हो हामी गराउँला । त्यसमा निर्धक्क रहनुहोला । त्यसकारण अहिले कसले के गर्यो ? कसको गल्ती भयो ? यो विषयमा हामी समीक्षा गरौँला । अहिले दोषको बाँडफाँड नगरौँ । दोष लगाउने कोही मान्छे चाहिएको छ भने मलाई दोष लगाउनुहोस् । म सत्तारुढ पार्टीको सभापति हो । तर अहिले दोषि खोज्ने काम नगरौँ ।’

सभापति लामिछानेले सरकार मधेशसहित पूर्वी जिल्लामा विकसित समस्या समाधान गर्न गम्भीर भएर लागिरहेको समेत बताउनुभयो ।