
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।


हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्क रहन, नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





