
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ ।
गृहमन्त्रालयका अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र परिवारलाई १०-१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

गृहमन्त्रीले हस्ताक्षर गरेको सहमति पत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ । प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने दुवै पक्ष सहमति भएको छ ।


त्यसैगरी, मृतकको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने उल्लेख सम्झौतामा गरिएको छ ।
सहमतिका बुँदा:

१- मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रकृया तत्काल अगाडि बढाउने । साथै मृतकका परिवारलाई रु.१०,००,०००।- (अक्षरेपि दश लाख मात्र) नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने ।
२- २०८३ साल श्रावण १० गते राति देवानगञ्ज-३, कप्तानगञ्जमा भएको घटनाको निश्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कार्वाही प्रकृया तत्काल अगाडि बढाउने ।

३- देवानगञ्ज गाउँपालिका-३, स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरुबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने ।
४- प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने ।
५- उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरु प्रचलित कानून बमोजिम यथाशिघ्र कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढाउने ।
६- मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने ।

७ मिति २०८३/०४/१५ गते दिनको २ बजे मृतकको अन्तिम संस्कार गर्ने ।





