ब्रडपिट हिम पहिराेले १ किमी तल झारेकाे थियाे आरोहीलाई, दुई शव पहिचान

इस्लामबाद, १५ साउन । ब्रड पिकमा अघिल्लो दिन दिउँसोको समयमा गएको हिमपहिरोमा परी बेपत्ता भएका आरोहीहरूको खोजी कार्य चलिरहँदा शुक्रबार चारवटा शव फेला परेका छन्।

पाकिस्तानको अल्पाइन क्लब (एसीपी) का अध्यक्ष मेजर जनरल इरफान अर्शदले शुक्रबार पाकिस्तानको ‘डन’ पत्रिकालाई चारवटा शव फेला परेको जानकारी दिए। उनका अनुसार मृतकहरूमध्ये ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुर बहादुर गुरुङको पहिचान खुलेको छ भने थप २ को पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।

सो १० सदस्यीय टोलीमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ आरोही समावेश थिए। नेपालका आरोहीहरूमा चर्चित पर्वतारोही निर्मल पुर्जा, पुर बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाको पहिचान गरिएको छ। क्लबका अनुसार अन्य आरोहीहरूमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानी आरोही सोहेल साखी, चीनका वाङ झोङ र संयुक्त राज्य अमेरिकाकी म्यालोरी गेइस रहेको थिए ।

एसीपीका वरिष्ठ उपाध्यक्ष करार हैदरीले जारी खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन उद्धारकर्मी र थप विशेष उपकरणसहित पाकिस्तानी सेनाको उड्डयन शाखाका दुईवटा उद्धार हेलिकप्टर पठाइएको बताए। ‘मौसम र सञ्चालनको अवस्थालाई ध्यानमा राख्दै, हेलिकप्टर सहयोग र उपलब्ध सबै उद्धार स्रोतसाधनहरू यथाशीघ्र परिचालन गर्न हरसम्भव प्रयास भइरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

क्लबले आफूहरूले स्थितिको नजिकबाट निगरानी गरिरहेको र सबै सम्बन्धित पक्षहरूसँग समन्वय गरिरहेको बताउँदै पर्वतारोहीका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

एसीपीका महासचिव अयाज सिगरीका अनुसार घटना हुनु अघि धेरै आरोहण टोलीहरूले संयुक्त रूपमा शिखरमा पुग्ने प्रयास सुरु गरिसकेका थिए। उनका अनुसार हराइरहेका केही पर्वतारोहीहरूबाट प्राप्त जीपीएस स्थानहरूले हिमपहिरोले उक्त समूहलाई करिब १ हजार मिटर तल लगेको र उनीहरू त्यहाँ फसेको बताएका छन ।

सिगरीले शुक्रबारवाट हेलिकप्टरमार्फत उद्धार कार्य सुरु भएको उनले हिमपहिरोबाट केही स्थानीय उच्च उचाइका भरियाहरू पनि प्रभावित भएको हुन सक्ने आशंका व्यक्त गरे।

 

यसैबीच, गिलगिट बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेन एड्भोकेटले सबै सम्बन्धित विभागहरूलाई उच्च सतर्कता अपनाउन र पाकिस्तानी सेनासँग समन्वय गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन । उनले जिल्ला प्रशासन र सम्बन्धित अधिकारीहरूलाई पर्वतारोहीहरूको सुरक्षा सुनिश्चित गर्न उपलब्ध सबै स्रोतसाधनको उपयोग गर्न निर्देशन दिए।

images