
-केशव पन्थि
अर्घाखाँची, साउन १५। अर्घाखाँची जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले शुक्रबार सदरमुकाम सन्धिखर्कमा धार्मिक सद्भाव कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका राजनीतिक नेतृत्व, धार्मिक अगुवा, सुरक्षा निकाय, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रमले धार्मिक एकता र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य हरि प्रसाद भुसाल, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने लगायत जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


त्यसैगरी हिन्दु धर्मका गुरु नारायण प्रसाद खनाल, इस्लाम धर्मका गुरु हाजी हसरदिन मियाँ सहित हिन्दु तथा इस्लाम धर्मका विभिन्न अगुवाहरू, जिल्ला सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीले गर्नुभएको थियो। उहाँले धार्मिक विविधता नेपालको पहिचान र शक्ति भएको उल्लेख गर्दै सबै समुदायबीचको आपसी सम्मान, सहिष्णुता र सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले समाजमा फैलिन सक्ने भ्रम, द्वेषपूर्ण अभिव्यक्ति र अफवाहप्रति सचेत रहन सबैलाई आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।

कार्यक्रममा वक्ताहरूले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विशेषता भएको देश भएकाले सबै धर्म, संस्कृति र परम्पराप्रति समान सम्मान कायम राख्नु आजको आवश्यकता भएको बताएका थिए। धार्मिक विविधता विभाजनको आधार नभई राष्ट्रिय एकताको आधार बन्नुपर्ने उनीहरूको जोड थियो।


हिन्दु धर्मका गुरु नारायण प्रसाद खनालले धर्मले सदैव मानवता, प्रेम, करुणा र सहिष्णुताको शिक्षा दिने भएकाले कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनलाई स्वीकार नगर्ने बताउनुभयो। उहाँले सबै धर्मका अनुयायीले एकअर्काको आस्था र संस्कृतिको सम्मान गर्दै समाजमा शान्ति स्थापना गर्न योगदान दिनुपर्ने धारणा राख्नुभयो।
इस्लाम धर्मका गुरु हाजी हसरदिन मियाँले इस्लाम धर्मले पनि शान्ति, भाइचारा, मानव सेवा र सहअस्तित्वलाई उच्च महत्व दिने उल्लेख गर्दै विभिन्न धर्मबीचको विश्वास र सहकार्यले समाजलाई अझ बलियो बनाउने बताउनुभयो। उहाँले धार्मिक सहिष्णुता कायम राख्न सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले धर्मका नाममा समाजमा विभाजन सिर्जना गर्ने कुनै पनि गतिविधिलाई अस्वीकार गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबै पक्ष एकमत भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको अन्त्यमा उपस्थित सबै सरोकारवालाले धार्मिक सद्भाव, सामाजिक सहिष्णुता, आपसी सम्मान तथा सामाजिक एकता कायम राख्ने सामूहिक प्रतिबद्धतासहित निर्णयपत्रमा हस्ताक्षर गरेका थिए। निर्णयपत्रमा कुनै पनि धर्म, जाति वा समुदायप्रति द्वेष फैलाउने गतिविधिको विरोध गर्ने, सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचना र उत्तेजक सामग्रीप्रति सचेत रहने तथा शान्ति, सद्भाव र सामाजिक एकतालाई थप सुदृढ बनाउन सबै पक्षले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सहभागीहरूले अर्घाखाँचीमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई आगामी दिनमा पनि निरन्तरता दिन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमले जिल्लामा विभिन्न धर्म र समुदायबीच आपसी विश्वास, सम्मान र सहकार्यको वातावरण अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।




