फिफाको विश्वकप लगानी योजना खारेज, अध्यक्ष इन्फान्टिनोमाथि दबाब बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजना अन्ततः खारेज गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले व्यापक विरोधपछि उक्त प्रस्ताव फिर्ता लिने घोषणा गरेका हुन् ।

इन्फान्टिनोले उक्त योजनाले फिफाभित्र विभाजन सिर्जना गरेको र अब त्यसलाई अघि बढाउनु मूल उद्देश्यअनुकूल नरहेको बताए । उनले भने, ‘यस कारण यो प्रस्ताव अब अगाडि बढाइने छैन ।’

इन्फान्टिनोले यसअघि फिफाका २११ सदस्य राष्ट्रलाई निजी लगानीको प्रस्ताव समर्थन गरेमा प्रत्येकलाई चार करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव राखेका थिए । उक्त योजनाअन्तर्गत पुरुष र महिला विश्वकपसहित फिफाका प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई अल्पांश स्वामित्व दिने तयारी गरिएको थियो ।

तर युरोपेली फुटबल महासंघका ५५ सदस्य राष्ट्रले योजना कार्यान्वयन भए विश्वकप बहिष्कार गर्ने चेतावनी दिएका थिए । उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको फुटबल महासंघले पनि प्रस्ताव अस्वीकार गरेको जनाएको थियो । त्यसपछि एसियाली फुटबल महासंघले पनि युरोपेली र उत्तर तथा मध्य अमेरिकी महासंघको पक्षमा ऐक्यबद्धता जनाएको थियो ।

यसरी युरोपका ५५, उत्तर तथा मध्य अमेरिका तथा क्यारेबियनका ३५ र एसियाका ४६ सदस्य राष्ट्र गरी १३६ मत प्रस्तावको विपक्षमा जाने अवस्था बनेपछि इन्फान्टिनोको योजना पारित हुने सम्भावना समाप्त भएको थियो । प्रस्ताव पारित गर्न कम्तीमा १०६ सदस्य राष्ट्रको समर्थन आवश्यक थियो ।

विवाद बढेसँगै फिफाका वरिष्ठ रणनीतिक सल्लाहकार कार्लोस कोर्डेइरोले पदबाट राजीनामा दिएका छन् । उनले यो प्रस्तावलाई ‘फुटबलका लागि खराब सम्झौता’ भन्दै यसले फुटबलको भविष्य नै जोखिममा पार्ने बताएका छन् । फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामुरले पनि यो योजना संस्थाभित्रकै धेरै अधिकारीलाई जानकारी नदिई अघि बढाइएको दाबी गर्दै यसलाई “एक व्यक्तिको परियोजना’ भनेका छन् ।

फिफाले निजी लगानीकर्तालाई सहभागी गराएर फिफा फरवार्ड इन्टरप्राइज नामक नयाँ व्यावसायिक संस्था स्थापना गर्ने योजना बनाएको थियो । अमेरिकी लगानी कम्पनी थ्राइभ इटरनलले प्रस्तावित लगानी समूहको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । यो कम्पनी अमेरिकी उद्यमी जोसुवा कुशनरले स्थापना गरेका हुन् ।

योजनाअनुसार लगानी बैंक जेपी मोर्गनले तयार पारेको २५ पृष्ठको दस्तावेजमा फिफाका प्रतियोगिताबाट हुने आम्दानी बढाएर सन् २०३५-२०३९ को अवधिमा प्रत्येक सदस्य राष्ट्रलाई करिब दुई करोड ४० लाख युरोसम्म वितरण गर्न सकिने उल्लेख गरिएको थियो ।  तर उक्त दस्तावेजमा महिला फुटबलबारे कुनै उल्लेख गरिएको थिएन ।

यस घटनापछि ५६ वर्षीय इन्फान्टिनोमाथि अर्को कार्यकालका लागि पुनः अध्यक्ष बन्ने अभियानमा ठूलो दबाब परेको छ । आगामी मार्चमा मोरक्कोमा हुने फिफाको ७७औँ महाधिवेशनबाट नयाँ अध्यक्ष चयन हुनेछ भने उम्मेदवारी दर्ताको अन्तिम मिति आगामी नोभेम्बर १८ तोकिएको छ ।

images