टर्कीमा फेला परयो पानी मुनि बसेको बिशाल सहरको संरचना

अंकारा, १६ साउन । पानी मुनिको नयाँ संसारले वैज्ञानिकहरूलाई पुनः आश्चर्यचकित पारेको छ। यो आश्चर्य दक्षिण पूर्वी टर्कीस्थित डिकले बाँधको जलाशयमुनि गरिएको एक नयाँ खोजबाट उत्पन्न भएको हो।

शताब्दीयौं पुरानो पानीजहाजको भग्नावशेषको सट्टा विशेषज्ञहरूले २४०० वर्ष पुरानो एउटा प्राचीन सहरको अवशेष फेला पारेका छन्। उक्त सहरका धेरै संरचनाहरू निकै राम्रो अवस्थामा सुरक्षित रहनुले विशेषज्ञहरूलाई चकित बनाएको छ।

एस डट कममा उल्लेख भएको एक समाचार अनुसार यो एक महत्त्वपूर्ण खोज हो, जसले विश्वभरका समुद्र, महासागर र तालहरूको पानीमुनि लुकेका अनेकौं रहस्यहरू उजागर गरेको छ। डिक्ल विश्वविद्यालयको यस अध्ययनले चिहान, मस्जिद र धार्मिक विद्यालयहरूसँगै आवासीय बस्तीहरूको अस्तित्व पत्ता लगाएको छ, जुन सबै शताब्दीयौंसम्म पानीमुनि रहेका भए तापनि राम्रो अवस्थामा सुरक्षित रहेका छन्।

यो जलाशय सन् १९९० को दशकको उत्तरार्धमा डिक्ले बाँधको निर्माणपछि बनेको हो। दशकौँसम्म यी संरचनाहरू सर्वसाधारणको नजरबाट ओझेलमा रहेका थिए, शान्त पानी र मानवीय हस्तक्षेपको अभावका कारण यिनीहरू अहिलेसम्म देखिएका थिएनन्। तर, भारी वर्षापछि बाँधको एउटा ढोकामा आएको प्राविधिक गडबडीका कारण पानीको सतह घट्यो र ती संरचनाहरू देखिन पुगेका हुन् ।

अनुसन्धानकर्ताहरूले पानीमुनि रहेका ७८ वटा आवासका अवशेषहरू पत्ता लगाएका छन्, जसले कुनै समय यस क्षेत्रमा ठूलो जनसङ्ख्याको बसोबास रहेको सङ्केत गरेको छ। टाइग्रिस नदीको किनारमा रहेका कृषि क्षेत्रहरूले त्यहाँको अर्थतन्त्र खेतीपातीमा आधारित रहेको देखाउँछन्। यस स्थलमा मस्जिद र मदरसाजस्ता धार्मिक संरचनाका साथै धेरै चिहानहरू पनि फेला परेका छन्।

‘हाम्रा टोलीहरूले खिचेका तस्बिरहरूमा वा पानीको सतह कम हुँदा यी ऐतिहासिक संरचनाहरू आफ्नो मौलिक स्वरूप कायम राख्दै राम्रो अवस्थामा रहेको देख्न सकिन्छ,’ डिकले विश्वविद्यालयका अनुसन्धानकर्ता इरफान यिल्दिज,ले भने ।

बाँध निर्माण हुनु अघि एगिल क्षेत्र विभिन्न प्राचीन सभ्यताहरूको थलो थियो र यस क्षेत्रमा आफ्नो छाप छोड्ने साम्राज्य तथा संस्कृतिहरूको मिलनविन्दुका रूपमा रहेको थियो। यो नयाँ खोजले शताब्दीयौँको अन्तरालमा यहाँको बस्ती कसरी विकसित हुँदै गयो भन्ने कुरा स्पष्ट रूपमा देखाउँछ। यहाँका केही संरचनाहरू ईसापूर्व पाँचौँ शताब्दीसम्म पुराना रहेका छन् । यद्यपि, यस उपत्यकाको लामो इतिहासको तुलनामा उत्खननबाट प्राप्त यी अवशेषहरू भने अपेक्षाकृत रूपमा नयाँ हुन्।

यो खोजले पुरातत्वविद्हरूका लागि एउटा चुनौती पनि खडा गरेको छ। पानीको सतहमा हुने उतार चढाव, सर्ने किसिमको माटो बालुवा र भू क्षयका कारण यी भग्नावशेषहरू लोप हुन सक्छन्। तसर्थ, यिनको संरक्षण र अभिलेखीकरणका लागि उपयुक्त उपायहरू अपनाउनु आवश्यक रहेकोमा जोड गरिएको छ।

images

यिल्दिजले यी अवशेषहरूको पानीमुनि पुरातत्विक अध्ययन गर्न सम्भव रहेको बताए। उनले उक्त स्थलको नक्साङ्कन गर्नुपर्ने र भविष्यका लागि यसको संरक्षण सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए।