
काठमाडौँ । स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका फरवार्ड फेरान टोरेसले बार्सिलोना छाड्ने निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फुट मर्काटोका अनुसार बिदाका क्रममा टोरेसले क्याटालान क्लब छाडेर युरोपेली च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने निर्णय गरेको दाबि गरिएको छ । उनको प्रतिनिधि र फ्रान्सेली क्लबबीच प्रारम्भिक छलफलसमेत सुरु भइसकेको बताइएको छ ।


स्पेनी खेल दैनिक मार्काका अनुसार आगामी साता पिएसजी र बार्सिलोनाबीच हुने औपचारिक वार्तामा ठूलो अवरोध आउने सम्भावना नभएको बताइएको छ ।

टोरेसको स्थानान्तरण शुल्क पाँच करोड युरोभन्दा बढी पुग्ने अनुमान गरिएको छ । विश्वकपअघि नै बार्सिलोनाले उनको मूल्य सोही हाराहारीमा निर्धारण गरेको थियो । अमेरिकामा सम्पन्न विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । विशेषगरी अर्जेन्टिनाविरुद्धको फाइनलमा गरेको निर्णायक गोलपछि उनको बजार मूल्य अझ बढेको विश्वास गरिएको छ ।
यदि पिएसजीले ब्राड्ली बारकोलालाई अर्को क्लबमा जान अनुमति दिएमा टोरेसलाई टोलीमा भित्र्याउने बाटो सहज हुने बताइएको छ । बारकोलाको नाम लिभरपुलसहित विभिन्न क्लबसँग जोडिएको छ ।

गत सिजन प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा टोरेस बार्सिलोनाको आक्रमण पंक्तिका प्रमुख खेलाडीमध्ये एक थिए । उनले केही खेलमा रोबर्ट लेवान्डोस्कीलाई समेत पछि पार्दै मुख्य स्ट्राइकरको भूमिका निभाएका थिए । उनले ला लिगामा २३ खेलको सुरुआती रोजाइमा पर्दै १६ गोल गरेका थिए र बार्सिलोनालाई लगातार दोस्रो लिग उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए ।
बार्सिलोनाका लागि उनले हालसम्म २०७ खेल खेल्दै ६५ गोल गरेका छन् भने २३ गोलका अवसर सिर्जना गरेका छन् । बार्सिलोनाले उनलाई सन् २०२२ मा म्यानचेस्टर सिटीबाट पाँच करोड ५० लाख युरोमा अनुबन्ध गरेको थियो । २६ वर्षीय टोरेसले आफ्नो व्यावसायिक फुटबल यात्राको सुरुआत भ्यालेन्सियाबाट गरेका हुन् ।





