
पोखरा । पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । पोखरा २२ कोदीमा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।
प्रमुख आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र खेती विस्तार आजको आवश्यकता भएको बताए । उनले रैथाने बालीका रूपमा कोदो खेतीको प्रवर्द्धन, खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।


उनले कोदो उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन महानगरपालिकाले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा जोड दिदै उनले कोदो कृषकहरूलाई समर्थन मूल्य समेत प्रदान गरेका थिए ।

सो अवसरमा कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ । १७ रोपनी क्षेत्रफलमा कोदो खेती गर्नुभएका पोखरा २२ का कृषक खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गा बहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २८ का कृषक शोभा भण्डारी र ९ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २३ का कृषक होम बहादुर गुरुङलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।
महोत्सवमा कोदो रोप्ने प्रतियोगिता समेत सम्पन्न भएको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार नगर क्षेत्रको करिब ३ हजार ८ सय हेक्टर क्षेत्रफलमा कोदो खेती लगाउने गरिएको छ भने, ४८ सय मेक्ट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ । बजारमा माग बढिरहेका बेला उत्पादन भने दिनानुदिन घट्दै गइरहेको अवस्थामा कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि गर्न कोदोको न्यूनतम समर्थन मूल्य समेत प्रदान गर्न थालिएको कडरियाले बताए ।


महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी राखिएको थियो । कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।





