नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्तामा इतिहासप्रति सम्मान र अग्रजहरूको योगदानको मूल्यांकन गर्ने संस्कार हराउँदै गएको गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
आईतवार तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले मुलुक निर्माणमा योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्न नसक्ने अवस्था आउनु लाजमर्दो भएको बताउनु भयो ।

उहाँले नयाँ पुस्ताले पुराना पुस्ताको सम्मान गर्न नसक्ने, इतिहासमा योगदान गर्ने व्यक्तिहरूलाई चिन्न र कदर गर्न नसक्ने अवस्था देखिएको भन्दै समाजले कस्तो पुस्ता हुर्काइरहेको छ भन्ने विषयमा आत्ममन्थन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

सहसंयोजक नेपालले गत वर्षको भदौमा जेनजी आन्दोलनको क्रममा अरुको घर जलाउने, परिवारका सदस्यहरूमाथि आक्रमण गर्ने र अंगभंग गर्ने जस्ता घृणित कार्य भएकोप्रति आपत्ति समेत जनाउनु भयो । यस्ता कार्य आफ्नै परिवारमाथि भएको भए कस्तो अवस्था सिर्जना हुन्थ्यो भन्ने हेक्का राख्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘जुन देशमा नयाँ पुस्ताले पुराना पुस्ताको सम्मान गर्न सक्दैन, इतिहासमा मुलुक निर्माणको लागि योगदान गर्ने को हुन् ? को होइनन् भन्नेकुरा बुझ्न सक्दैन, तिनीहरुको कदर र सम्मान गर्न सक्दैनन् जान्दैनन् भने त्योभन्दा लाजमर्दो कुरा अरु केही पनि हुँदैन । हामीले कस्तो पुस्ता जन्माएछौँ ? कस्तो पुस्ता हुर्काएछौँ, कस्तो संस्कार दिएछौँ, कस्तो संस्कृति सिकाएछौँ, आफैंलाई पनि सोध्न मन लाग्छ । हामी सबैले आफूले आफैंलाई सोधौँ, आत्ममन्थन गरौँ । वास्तवमा ठिक कति भयो ? बेठिक कति भयो ? अरुको घर जलाउनेले सम्झिउन् उनीहरुको घर जल्यो भने के हुन्थ्यो होला ? अरुका परिवारका सदस्यमाथि हातपात गर्ने कामहरु भए । हात काट्नुपर्ने स्थिति बन्यो । त्यही आफ्नो परिवारको सदस्यलाई भइदिएको भए के हुन्थ्यो होला ? यति पनि सोच्न नसक्ने हो भने के हुन्छ ?’

उहाँले समाजमा सहिष्णुता, मानवीय संवेदना र आत्ममूल्यांकनको संस्कार विकास गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।