रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु हिन्दुवादी अभियान्ता हुन पाउने बताउनुभएको छ ।
आईतवार जनकपुरमा पत्रकारहरुसँग कुराकानीका क्रममा उहाँले हिन्दु सम्राट सेनामा रास्वपाको कार्यकर्ता पनि भएको स्वीकार गर्दै यस्तो बताउनुभएको हो । हिन्दु सम्राट सेनाको तर्फवाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेका थिए । उक्त विषय सार्वजानिक भएपछि रास्वपाको आलोचना भएको थियो । सांसद झाले यस विषयलाई लिएर अतिरञ्जित गर्न आवश्यक नरहेको बताउनु भयो । पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उहाँको भनाई छ ।

उहाँले वार्तामा सहभागी भएकै आधारमा विवाद सिर्जना गर्नु अनुचित भएको टिप्पणी गर्नुभयो । उहाँले रास्वपाका पार्टी सदस्य भएको कारणले नै आन्दोलनलाई हिंसात्मक बाटोमा नभई वार्तामार्फत समाधान खोज्न सफल भएको दाबी गर्नुभयो । हिन्दु सम्राट सेनाका सम्भावित र उचित मागमाथि थप छलफल गरेर सरकार अगाडी बढ्ने उहाँको भनाई छ ।

उहाँकाअनुसार हिन्दु सम्राट सेनाका प्रतिनिधिसंग सरकारले साँढे नौ घण्टा वार्ता गरेको थियो । आन्दोलनकारीका मागहरू संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिले सम्भव हुने गरी परिमार्जन गर्न लामो समय छलफल गरिएको उहाँको दाबी छ । वार्तामा गृह मन्त्रालय, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए । आन्दोलनकारीले राखेका मागमध्ये कार्यान्वयनयोग्य र उचित विषयलाई मात्र अघि बढाउन सहमति जुटाउने प्रयास गरिएको सांसद झाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो कार्यकर्ता १५ जनामध्ये एकजना हुनुहुन्थ्यो, जो राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हो तर उहाँ हिन्दुवादी अभियन्ता पनि हो । त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो । हिन्दुवादी अभियन्ता हाम्रो पार्टीको सदस्य पनि हुन पाउनुहुन्छ । उहाँले नै यो आन्दोलनमा तोडफोडमा आगजनीमा हत्या हिंसामा जानुको सट्टा होइन वार्ता गरौँ भनेर हामीले उहाँलाई वार्ताको टेवलमा ल्यायौँ । के कुनै पार्टीको सदस्य सरकारसँग वार्ता गर्न पाउँदैन ? आन्दोलनमै जानुपर्ने, तोडफोड नै गर्नुपर्ने, हत्या हिंसामै सीमित हुनुपर्ने कस्तो तर्क गरेको ? रास्वपाको भातृ सङ्गठनहरू छैन तर धर्मप्रतिको आस्था हाम्रा पार्टीका सदस्यहरूले पनि राख्न पाउनुहुन्छ र उहाँहरू धर्मको आस्थाको अभियन्ताको रूपमा हामीसँगै वार्ताको टेवलमा पनि आउनुपर्छ, आउन पाउनुहुन्छ । एकजना पार्टीको सदस्य कुनै धर्मप्रतिको आस्था राख्ने व्यक्ति पनि हुनसक्छ, ऊ बुवा पनि हुनसक्छ, छोरा पनि हुनसक्छ, श्रीमान् पनि हुनसक्छ, श्रीमती पनि हुनसक्छ, दाजुभाइ काका भतिजा जे पनि हुनसक्छ । तिमी रास्वपा हौ, त्यसैले तिमी छोरा हुन पाउँदैनौ, तिमी रास्वपाको सदस्य हौँ, त्यसैले तिमी कसैको भाइ हुन पाउँदैनौ भन्ने त कहाँको र कस्तो तर्क हो यो ? त्यसैले गर्दा उहाँहरूको बौद्धिक दरिद्रताप्रति दया राख्दै म यो भन्न चाहन्छु कि रास्वपाको सदस्यहरूको जीवनको अर्को अंश पनि हुन्छ । उहाँहरू त्यहाँबाट वार्ताको टेवलमा पनि आउन पाउनुहुन्छ, आउनुभयो उहाँहरूको माग हामीहरूले बुझ्यौँ, त्यो ग्रहण गर्यौँ । उहाँहरूले राख्नुभएको सम्भावित यथोचित मागहरू प्रति हामी त्यसमा छलफल गर्नेछौँ ।’

सांसद झाकाअनुसार पहिलो चरणको वार्तामा सहभागी हुन नसकेका केही पक्षले असन्तुष्टि जनाएपछि दोस्रो चरणमा थप दुई घण्टा छलफल गरिएको थियो । त्यसक्रममा उनीहरूले थप ६ वटा माग प्रस्तुत गरेका थिए भने केही पुराना माग संशोधनको प्रश्ताव राखेका थिए । सुरक्षा निकायका अधिकारी र गृहमन्त्री सुधन गुरुङले आवश्यक आश्वासन दिएपछि उनीहरू सन्तुष्ट भएको सांसद झाको दाबी छ । उहाँले केही राजनीतिक दलले वार्ता सफल नहोस् भन्ने प्रयास गरेको पनि आरोप लगाउनु भयो । तर उनीहरुको प्रयास असफल भएको उहाँको दाबी छ । उहाँले समाजमा अस्थिरता फैलाउने गतिविधिबाट टाढा रहन पनि सबैसंग आग्रह गर्नुभयो । आगो बल्ने वातावरण सिर्जना गर्न खोज्नेहरू स्वयं पनि त्यसको असरबाट अछुतो नरहने उहाँको चेतावनी छ ।