कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत

भक्तपुर, १७ साउन । कुतः पिकाक प्रकाशनले भक्तपुरमा तीन जना स्रस्टाहरूलाई पुरस्कृत गरेको छ ।

३२ वर्षदेखि अबिछिन्न प्रकाशन हुँदैआएको लुँध्वाखा पत्रिकामा उपलब्ध गराएका १७२ लघुकथा मध्ये उत्कृष्ट छनोट गरी तीन जना स्रष्टाहरू नगदसहित पुरस्कृत भएका हुन् ।

मुकुट शिर्षकका लघुकथाकार सर्जक दिव्य गिरि ५५ हजार नगदसहित पहिलो, दिव्या ताम्राकार ३५ हजार नगदसहित द्वितीय र मनदेवी ताम्राकार २५ हजार नगदसहित तेस्रो भएका छन् ।

समाजसेवी कृष्णलाल प्रधानका आमाबुवा कृष्णमाया तथा हर्षलालको स्मरणमा दुई वर्ष अन्तरालमा एकपटक स्रष्टाहरूलाई पुरस्कार दिंदैआएको आयोजक संस्थाका विमल ताम्राकारले जनाए ।

नेपालभाषा एकेडमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले लघुकथा प्रतियोगितामा सहभागी स्रष्टाहरूलाई पुरस्कारको लागि छनोट गरेका थिए ।

कार्यक्रममा आधुनिक कवि डा. योगेन्द्र प्रधानले नेपालभाषाको साहित्य क्षेत्र उदार भएकोले गैर–नेपालभाषामा रचना गरिएको लघुकथालाई समेत पुरस्कारको भागिदार बनाएको बताए । भाषिक आदानप्रदानलाई निरन्तरता दिंदै नेपालका विभिन्न विधाका फरक भाषामा रचना गरिएको साहित्य श्रीवृद्धि, विकास तथा सदृढ बनाउनु पर्ने बताए ।

कार्यक्रममा नेवाः अमेरिकन दबूका संस्थापक अध्यक्ष मनोरञ्जन नारायण धौभडेललाई संस्थाको संरक्षक सदस्य नियुक्त गरिएको थियो ।

कार्यक्रममा संस्कृतिविद् डा. चुन्दा बज्राचार्य, आधुनिक कवि डा. योगेन्द्र प्रधान, प्राज्ञ अगिब बनेपाली, आशा सफू गुठीका अध्यक्ष शरद कसाः, विष्णुकेशरी ताम्राकार, नेपाल साहित्य मन्दिरका अध्यक्ष माणिक बाबु ग्वंगः, लघु कथा केन्द्रकी लता केसी, न्ह्यज्या खलःका कृष्णमोहन जोशी, विमल भौकाजी लगायतको सहभागिता थियो ।