सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गर्नुभएको छ ।

आईतवार तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार रहेको बताउनु भयो ।

उहाँले  संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न समेत सबै पक्षलाई आग्रह गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले तुल्सीलाल अमात्यले स्थापित गरेको सिद्धान्तनिष्ठ राजनीति, त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहोस् भन्ने कामना पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही दिनयता सुनसरीसहित पूर्वी तराईका जिल्लाहरुमा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाहरुले हामी सबैको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । विविधताबीचको एकता, आपसि सम्मान, सहष्णिुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो । आजको यस संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदिबहिनि, तथा दाजुभाईहरुलाई संयमता अपनाउन, अफबाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासनलाई सुदृढ बनाउन आआफ्नो स्थानबाट जिम्मेवार भुमिका निर्वाह गर्न म हार्दिक आह्वान गर्न चाहान्छु । स्वर्गीय तुल्सीलाल अमात्यले स्थापित गर्नुभएको सिद्धान्तनिष्ठ राजनीति, त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताको लागि सधैं प्रेरणाको स्रोत बनिरहोस् भन्ने कामना गर्दछु ।’

उहाँले तुल्सीलालसहित मुलुकमा लोकतन्त्र स्थापित गर्न भुमिका निर्वाह गर्नुहुने नेताहरुको आदर्श र विचारलाई आत्मसात गर्दै अगाडि बढ्न आवश्यक रहेको समेत बताउनु भयो ।