ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’द्वारा स:शुल्क सेवा सुरु

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ‘ट्रुथ सोसल’ले वाल स्ट्रिटका उच्च गतिका सेयर कारोबारकर्ताका लागि ‘ट्रुथ एपीआई’ नामक सशुल्क सेवा सुरु गरेको छ ।

कम्पनीका अनुसार मासिक शुल्क तिरेपछि ग्राहकहरूले ट्रम्प तथा अन्य खाताबाट प्रकाशित हुने सामग्रीमा छिटो प्राविधिक पहुँच प्राप्त गर्न सक्नेछन् । यसबाट उनीहरूले वित्तीय बजारमा अझ तीव्र गतिमा कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस सेवाको घोषणापछि आलोचकहरूले भने गम्भीर प्रश्न उठाएका छन् । उनीहरूका अनुसार ट्रम्पका भन्सार शुल्क, युद्ध, ब्याजदर तथा अन्य नीतिगत निर्णयहरूले सेयर, ऋणपत्र र मुद्रा बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्तो सेवाले भित्री सूचनाको दुरुपयोग तथा सार्वजनिक पदबाट निजी लाभ लिने जोखिम बढाउन सक्छ ।

यद्यपि ट्रम्प मिडियाले भने सबै सामग्री सबै प्रयोगकर्ताका लागि एउटै समयमा सार्वजनिक गरिने जनाएको छ । कम्पनीका अनुसार नयाँ सेवाबाट कुनै पनि ग्राहकलाई अनुचित वा विशेष लाभ प्राप्त हुने अवस्था नरहेको दाबी गरिएको छ ।