
काठमाडौँ । इजरायलले गाजा पट्टीमा लगातार दोस्रो दिन पनि हवाई आक्रमण जारी राखेको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार गाजा सहर, खान युनिस र दैर अल–बलाहका आवासीय क्षेत्रमा आक्रमण गरिएको हो । गाजाको नागरिक सुरक्षा निकायले इजरायली लडाकु विमानले विभिन्न बस्तीलाई निशाना बनाएको जनाएको छ । यता, इजरायली सेनाले भने गाजामा रहेका सैन्य संरचना र हमासका लडाकुलाई लक्षित गरी कारबाही गरिएको दाबी गरेको छ । सेनाका अनुसार आक्रमणमा हमासका दुई लडाकुको मृत्यु भएको छ ।

यो आक्रमण हमासले केही दिनअघि प्रस्तावित निःशस्त्रीकरण योजना स्वीकार गरेपछि भएको हो । उक्त योजनाअनुसार हमासले आफ्ना हतियार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति बोर्ड’लाई हस्तान्तरण गर्ने प्रस्ताव स्वीकार गरेको बताइएको छ ।


यसैबीच, इजरायलका ऊर्जा मन्त्री एली कोहेनले गाजामा सैन्य कारबाही रोक्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनले हमासले हतियार नत्यागेसम्म गाजा पट्टीलाई पूर्ण रूपमा इजरायलको नियन्त्रणमा ल्याउनु आवश्यक रहेको बताएका छन् । समाचार संस्था रोयटर्सका अनुसार हाल गाजा पट्टीको करिब ७० प्रतिशत भूभाग इजरायलको नियन्त्रणमा रहेको छ ।





