आज काठमाडौंसहित २७ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश प्रमुख नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिनमा धेरै नदीको जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ ।

विभागले विशेषगरी साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आजका लागि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ। त्यस्तै, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, सिन्धुली, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, रुकुम पूर्व, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम तथा आसपासका जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदी, साथै कन्काई, कमला, बागमती, पूर्व राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि आगामी तीन दिन अधिकांश नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। पश्चिम राप्ती र बबई नदीमा भने आज सामान्य वृद्धि हुने भए पनि भोलिदेखि उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ ।

पूर्वानुमानअनुसार सप्तकोशी, तमोर, अरुण, दूधकोशी, सुनकोशी, नारायणी, त्रिशूली, कालीगण्डकी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, कमला, बागमती, कन्काई, पूर्व राप्ती, पश्चिम राप्ती र बबईलगायत नदीहरूको बहाव आगामी दिनमा बढ्ने देखिएको छ। यद्यपि यी नदीहरूको बहाव तत्काल खतरा वा सतर्कता तह पार गर्ने अवस्था भने देखिएको छैन ।

विभागले भोलि देशभरका केही साना नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्ने जनाएको छ भने पर्सि पनि अधिकांश नदीमा जलसतह बढ्ने क्रम जारी रहने पूर्वानुमान गरेको छ। लगातार वर्षाको सम्भावना रहेकाले नदी किनार, डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी तर्न वा नदी किनारमा नजान तथा मौसम र बाढीसम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा पछ्याउन विभागले आग्रह गरेको छ ।