
काठमाडौं, १८ साउन । बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।
बिहारको बांकीपुर निर्वाचन क्षेत्रमा ‘जन सुराज’ का संस्थापक प्रशान्त किशोरले निरन्तर अग्रता कायम राखेका छन्, मतगणनाको १५औँ चरणपछि, प्रशान्तले भाजपाका नीरज कुमारभन्दा ८,२०२ मतको अग्रता लिएका छन्। बांकीपुर सिट भाजपा नेता नितिन नवीनको परम्परागत गढ मानिन्छ । उनी त्यहाँबाट लगातार ५ कार्यकाल विधायक रहिसकेका छन्। उनी राज्यसभामा गएपछि यो सिट रिक्त भएको थियो।


उता, मध्य प्रदेशको दतियामा मतगणनाको सुरुवाती चरणहरूमा भाजपा अगाडि थियो तर अहिले कांग्रेस उम्मेदवार घनश्याम सिंहले ६,००० भन्दा बढी मतको अग्रता कायम गरेका छन्। भाजपाले यहाँ ३ पटकका विधायक नरोत्तम मिश्रलाई हटाएर आशुतोष तिवारीलाई उम्मेदवार बनाएको थियो।

यसैबीच, गुजरातको मन्जलपुरमा भाजपाका सतेन्द्रभाइ पटेल उर्फ सतीश पटेल को जित लगभग निश्चित देखिएको छ। उनले हालसम्म ४९ हजार ७९१ मत प्राप्त गरेका छन् भने कांग्रेसका भिखाभाइ रबारीले २२ हजार २७५ मत पाएका छन्। सतीश २७,५१६ मतको अन्तरले अगाडि छन्। कुल १९ चरणको मतगणनामध्ये अब दुई चरण मात्र बाँकी छ।




