
अमेरिकाको पश्चिमी क्षेत्रमा शनिवारदेखि शुरु भएको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तापक्रमले कीर्तिमानी स्तर कायम गरेसँगै स्वास्थ्य समस्या र डढेलोको जोखिम उच्च बनेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले क्यालिफोर्निया, एरिजोना, नेभाडा र उटाहका विभिन्न भागहरूमा अत्यधिक गर्मीको चेतावनी जारी गरेको छ ।
दक्षिण–पश्चिमी मरुभूमि क्षेत्रहरूमा तापक्रम ४९ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।मौसम पूर्वानुमानअनुसार क्यालिफोर्नियाको राजधानी स्याक्रामेन्टोमा तापक्रम ३९.४ डिग्री सेल्सियस नाघ्न सक्ने देखिएको छ । यस्तै, क्यालिफोर्नियाकै पाम स्प्रिंग्समा ४७.२ डिग्री र अत्यधिक गर्मीका लागि परिचित डेथ भ्यालीमा तापक्रम ५०.६ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ ।


अन्य राज्यहरूमा पनि गर्मीको उस्तै प्रभाव देखिएको छ । उटाहको साल्ट लेक सिटीमा ४०.६ डिग्री र नेभाडाको लास भेगासमा ४६.१ डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान गरिएको छ ।

एरिजोनाको राजधानी फिनिक्समा सोमबारसम्म तापक्रम ४३ देखि ४७ डिग्री सेल्सियसको बीचमा रहने र मेक्सिकोको सीमा नजिकै रहेको युमा सहरमा तापक्रम ४९ डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिइएको छ । क्यालिफोर्निया विश्वविद्यालयका जलवायु वैज्ञानिक ड्यानियल स्वेनका अनुसार, हिट डोम भनिने वायुमण्डलीय उच्च चापको प्रणालीका कारण यो क्षेत्रमा लामो समयदेखि भीषण गर्मी कायम रहेको हो । नासाको अर्थ अब्जर्भेटरीका अनुसार यस्तो प्रणालीले तातो हावालाई जमिनको सतह नजिकै थुनेर राख्ने र बादल बन्न नदिने भएकाले तापक्रम निरन्तर उच्च रहने गर्दछ ।
गर्मीका कारण सार्वजनिक स्वास्थ्यमा गम्भीर क्षति पुग्न थालेको छ । एरिजोनाको मारिकोपा काउन्टीको तथ्याङ्कअनुसार यस वर्ष गर्मीका कारण मृत्यु हुनेको संख्या ४० पुगिसकेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो । नेभाडाको क्लार्क काउन्टीमा पनि हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ भने अन्य ५ वटा शंकास्पद घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न, पर्याप्त पानी पिउन र घामबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । गर्मीबाट राहत दिन विभिन्न सहरहरूमा कुलिङ सेन्टर (चिसो गृह) हरू सञ्चालनमा ल्याइएका छन् ।
साथै, हप्तौंदेखिको खडेरी र भीषण गर्मीका कारण डढेलोको जोखिम समेत बढेको छ । धेरै क्षेत्रहरूमा रेड फ्ल्याग चेतावनी जारी गर्दै डढेलोप्रति उच्च शतर्क रहन भनिएको छ । मौसम पूर्वानुमान केन्द्रकाअनुसार अमेरिकाको अधिकांश भूभागमा अगस्टको मध्यसम्मै तापक्रम सामान्यभन्दा बढी रहने सम्भावना छ ।




