
काठमाडौं, १९ साउन । प्रशान्त महासागरमा अवस्थित विश्वको तेस्रो सबैभन्दा सानो मुलुक ‘नाउरु’ ले आफ्नो नाम परिवर्तन गर्ने ऐतिहासिक निर्णय गरेको छ। अब यो देश आधिकारिक रूपमा ‘रिपब्लिक अफ नाओएरो’का नामले चिनिने भएको छ। संयुक्त राष्ट्र सङ्घले पनि नयाँ नामअनुसार आफ्ना अभिलेखहरू अद्यावधिक गरेको छ।
करिब १२,००० जनसंख्या भएको यो टापु राष्ट्रका अनुसार ‘नाओएरो’ नै यसको वास्तविक नाम हो, जबकि ‘नाउरु’विदेशीहरूको सुविधाका लागि प्रचलनमा आएको हो। सरकारको अब यो ठम्याइ छ कि देशलाई विश्वमा यसको मौलिक पहिचानका साथ चिनाउने बेला आइसकेको छ। एक्काइसौं शताब्दीमा आफ्नो नाम परिवर्तन गर्ने आठौं मुलुक ‘नाओएरो’ बनेको छ। यसअघि सन् २०२२ मा टर्कीले यस्तै गरेको थियो।


१९ औँ शताब्दीको उत्तरार्धसम्म नाउरु १२ वटा स्थानीय जनजातिहरूको बसोबास रहेको एउटा सानो टापु थियो। त्यहाँ कुनै आधुनिक सरकार वा सेना थिएन। मानिसहरूको जीवन माछा मार्ने काम, नरिवल खेती र समुद्रबाट प्राप्त हुने स्रोतसाधनमा निर्भर थियो। सन् १८७० को दशकमा युरोपेली व्यापारीहरू नाउरु आउन थाले। उनीहरू नरिवल र अन्य सामानको व्यापार गर्थे र त्यसको बदलामा स्थानीय मानिसहरूलाई मदिरा तथा बन्दुक बेच्न थाले। यसले गर्दा टापुको सामाजिक सन्तुलन खलबलिन थाल्यो।

सन् १८७८ मा एउटा विवाह समारोहका क्रममा रीतिरिवाज सम्बन्धी विवाद उत्पन्न भयो। सोही विवादका बीच एक व्यक्तिले पेस्तोल निकाली गोली चलाउँदा एक आदिवासी मुखियाका छोराको ज्यान गयो। नाउरुको परम्परागत संस्कृतिमा यस्तो हत्याको बदला लिनुलाई सामाजिक दायित्व मानिन्थ्यो। यस घटनाले प्रतिशोधको यस्तो शृङ्खला सुरु गर्यो, जुन क्रमशः बढ्दै गएर टापुका सबै बाह्रवटा आदिवासी समूहहरू संलग्न भएको गृहयुद्धमा परिणत भयो।
नाउरु गृहयुद्धका रूपमा चिनिने यो द्वन्द्व करिब १० वर्षसम्म चल्यो। यस अवधिमा ठूलो संख्यामा मानिसहरूको ज्यान गयो, धेरै गाउँहरू तहसनहस भए र लगभग हरेक परिवार कुनै न कुनै रूपमा यस हिंसाबाट प्रभावित भयो। परिस्थिति यतिसम्म बिग्रियो कि अन्ततः सन् १८८८ मा जर्मनीले हस्तक्षेप गरी उक्त टापुमा आफ्नो नियन्त्रण कायम गर्यो, हतियारहरू जफत गर्यो र यो लामो तथा रक्तपातपूर्ण द्वन्द्वको अन्त्य गर्यो।


सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएसँगै परिस्थिति बदलियो। अस्ट्रेलियाली सेनाले खासै ठूलो प्रतिरोधको सामना नगरी नाउरुलाई आफ्नो नियन्त्रणमा लियो। युद्धमा जर्मनीको पराजय पछि उसले आफ्ना धेरैजसो विदेशी उपनिवेशहरू त्याग्न बाध्य हुनुपर्यो। करिब पाँच दशकसम्म विदेशी शासनमा रहे पछि नाउरुले ३१ जनवरी १९६८ मा पूर्ण स्वतन्त्रता प्राप्त गर्यो र एक सार्वभौम गणतन्त्र बन्यो।

आज नाउरुले सामना गरिरहेको सबैभन्दा ठूलो संकट जलवायु परिवर्तन हो। बढ्दो समुद्री सतहले यो टापु राष्ट्रका लागि निरन्तर खतरा खडा गरिरहेको छ। धेरै वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि यदि वर्तमान क्रम जारी रहेमा आगामी दशकहरूमा देशका ठूला भू भागहरू बसोबासका लागि अयोग्य हुनेछन्।
सन् १९९३ देखि नाउरु वरपरको समुद्री सतह प्रतिवर्ष औसतमा करिब ५ मिलिमिटरका दरले बढिरहेको छ, यो दर विश्वव्यापी औसतभन्दा बढी हो। यदि यो क्रम जारी रहेमा यस शताब्दीको अन्त्यसम्ममा समुद्री सतह थप २० देखि ५७ सेन्टिमिटरसम्म बढ्न सक्छ। र, यो टापु समुन्द्रमा बिलिन हुन सक्छ ।




