
टर्कीको इस्तानबुलस्थित महत्वपूर्ण समुद्री मार्ग बोस्फोरस जलमार्गमा सोमवार बाक्लो कुहिरोका कारण जहाजहरूको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार प्रतिकूल मौसमका कारण दृश्यता अत्यन्त न्युन भएपछि सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको हो ।
टर्कीको तटीय सुरक्षा महानिर्देशनालयले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार सोमवार बिहान ४ बजेदेखि जलमार्गमा दुईतर्फी यातायात स्थगित गरिएको हो । कृष्ण सागर र मारमरा सागरलाई जोड्ने यस रणनीतिक जलमार्गमा कुहिरोका कारण केही मिटर मात्रै देखिने अवस्था रहेकाले जहाज सञ्चालन जोखिमपूर्ण बनेको बताइएको छ ।


कृष्ण सागरलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने यो जलमार्ग विश्वकै व्यस्त र महत्वपूर्ण ढुवानी मार्गहरूमध्ये एक मानिन्छ । बाक्लो कुहिरोको प्रत्यक्ष असर इस्तानबुलका युरोपेली र एशियाली भागहरू जोड्ने फेरि सेवामा समेत परेको छ । अर्को सूचना जारी नभएसम्मका लागि यात्रु र सवारी साधन ओसारपसार गर्ने फेरि सेवाहरू पनि पूर्ण रूपमा बन्द गरिएको अधिकारीहरूले बताएका छन् । मौसमविद्हरूका अनुसार समुन्द्री सतहको तापक्रममा अचानक आएको गिरावटले गर्दा यो बाक्लो कुहिरो उत्पन्न भएको हो ।





