लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति पदको उम्मेदवार मनोनित

ब्राजिलको सत्तारुढ वर्कर्स पार्टी (पिटी) ले आगामी राष्ट्रपतीय निर्वाचनका लागि वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई औपचारिक रूपमा उम्मेदवार मनोनित गरेको छ । आईतवार आयोजित पार्टीको राष्ट्रिय महाधिवेशनले लुलालाई चौथो कार्यकालका लागि चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।

साओ पाउलोमा सम्पन्न महाधिवेशनले लुलासँगै वर्तमान उपराष्ट्रपति जेराल्डो अल्कमिनलाई पुनः उपराष्ट्रपतिको उम्मेदवारका रूपमा अनुमोदन गरेको छ। अल्कमिन ब्राजिलियन सोसलिस्ट पार्टीका नेता हुन् । पिटीका अध्यक्ष एडिन्हो सिल्भाले पार्टीले उच्च निर्वाचन अदालतमा उम्मेदवारी दर्ताको प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएका छन् ।

मनोनयनपछि ८० वर्षीय राष्ट्रपति लुलाले महाधिवेशनलाई सम्बोधन गर्दै आफ्नो वर्तमान प्रशासनले हासिल गरेका उपलब्धिहरू नै आगामी चुनावी अभियानको बलियो आधार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संघीय सरकारले गरेका कार्यहरू हामी गर्वका साथ जनतामाझ प्रश्तुत गर्न सक्छौँ ।’

ब्राजिलको निर्वाचन नियमानुसार राजनीतिक दलहरूले अगस्ट ५ सम्ममा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाउनुपर्ने र अगस्ट १५ सम्ममा आधिकारिक दर्ता प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ । निर्वाचनको औपचारिक प्रचारप्रसार भने अगस्ट १६ बाट शुरु हुने तालिका रहेको छ । लुला यसअघि सन् २००२ र २००६ को निर्वाचन जितेर लगातार दुई कार्यकाल राष्ट्रपति भइसकेका छन् । सन् २०२२ को निर्वाचनमा पुनः विजयी भएपछि उनले सन् २०२३ जनवरीदेखि आफ्नो तेस्रो कार्यकाल शुरु गरेका थिए ।