
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक ई. दीपक बरालले बजारमा हल्ला भएअनुसार एलपी ग्यास अभाव नभएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले ग्यास वितरण प्रणालीमा देखिएको समस्याका कारण ग्यास अभाव सिर्जना भएको देखिएको दाबी गर्नुभएको हो । उहाँले नेपालमा ग्यासको माग प्रतिमहिना करिव ४७ हजार मेट्रिक टन भएको उल्लेख गर्दै हाल भारतबाट ५५ हजार मेट्रिक टन ग्यास आयात गर्ने गरिएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार सामान्य खपतको तुलनामा करिव ५ प्रतिशत बढी ग्यास नेपाल भित्रिएको छ । उहाँले विगतमा आधा ग्यास सिलिण्डर वितरण गरिएको र हाल पूर्ण ग्यास वितरण गर्दा समस्या उत्पन्न भएको बताउनु भयो । ७.१ केजीका सिलिण्डरको आपूर्ति हुँदा उपभोक्ताले खाली सिलिण्डर घरमै थन्क्याउने गरेको र १४.२ केजीका सिलिण्डर आएपछि आवश्यकताभन्दा बढी भर्ने गरेका कारण बजारमा कृत्रिम चाप सिर्जना गरेको उहाँको दाबी छ ।


उहाँले निगमले ग्यास डिपोहरुलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न पनि निर्देशन दिएको जानकारी दिनुभयो । ग्यास नपाएको गुनासो बढेपछि निगमले टेकुस्थित कार्यालयबाट विभिन्न ग्यास कम्पनीका सिलिण्डर खुद्रा विक्री शुरु गरेको उहाँको भनाई छ । पछिल्ला तीन दिनमा त्यहाँबाट करिव २ हजार १०० सिलिण्डर मात्रै विक्री गरिएको उहाँले जानकारी दिनुभयो । यसले पनि बाहिर बजारमा हल्ला गरिएजस्तो ग्यास अभाव नभएको कुरालाई पुष्टी गर्ने उहाँको भनाई छ । यदपी निगमले ग्यास वितरण प्रक्रियालाई सहज बनाउन बजार अनुगमन लगायतका कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चिति नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ग्यास आयातमा समस्या छैन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा अलिकति समस्या हो कि भन्ने हामीले महसुस गरेका छौँ । हामीले भन्सार र इण्डियन आयललाई हामीले पठाएको डाटाहरु पनि हेर्ने हो भने इम्पोर्टमा समस्या छैन, आवश्यक भन्दा ५ प्रतिशत बरु बढिनै आएको छ तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्टको कारण केही समस्या देखियो । ७.१ केजीको सिलिण्डर विक्री गर्दा मानिहरुले डेली युजको लागि पनि त्यत्ति रुची नदेखाएर खाली सिलिण्डर होल्ड भइराखेको देखियो । अब १४.२ आएपछि फेरि सहजै ग्यास पाइन्छ भने घरमा खाली छन्, त्यो पनि भरिदिउँ न भन्ने भएको कारण अलिकति चाप बढेको देखिन्छ । हामीले बजार अनुगमनमा जादाँ व्यवसायीहरुले पनि आफ्नो डिलर मार्फत पनि विक्री वितरण गरिराख्नु भएको छ ।
ग्यास नै पाइएन, डिलर कहाँ गयो २ घण्टा मै ग्यास सकियो भन्छ, एउटा सिलिण्डर हुनेलाई त सारै कठिन भयो भन्ने गुनासो आएपछि हामीले डिपोहरुले पनि खुद्रा सेल्स पनि गरिराख्नु भएको छ । टेकुमा हाम्रो अफिस छ, त्यहाँबाट पनि ५–६ वटा ग्यास कम्पनीका ग्यास हामीले वितरण गरिरहेका छौँ, पछिल्लो ३ दिनमा हामीले मोटा–मोटी २१०० सिलिण्डर मात्रै विक्री भएको छ तर बजारमा जुन किसिमको सारै समस्या नै भयो भन्ने हल्ला छ, त्यसमा २१०० सिलिण्डर मात्रै बिक्री हुनु भनेको धेरै संख्या होइन । तर अब लाइन लागेर बसिदिने मिडिया कभरेजका लागी यसले चाँही साँच्चै नै ठूलै समस्या भो कि भन्ने पनि लाग्न सक्छ ।

यद्यपि त्यत्तिलाई पनि हामीले ठूलै समस्या मान्नैपर्छ किनकी हाम्रो दायित्व कन्जुमरलाई लाइनमा नबसिकन ग्यास आपूर्ति गरिदिने हो । यसमा हामी अलिकति इन्टरनल सप्लाई डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चुकेका हौं कि जस्तो पनि लाग्छ । व्यवसायी साथीहरुलाई पनि हामीले पहिलो प्राथमिकता हाउस होल्डलाई दिनुस् र व्यवसायीलाई सेकेन्ड प्राथमिकता राख्नुस् भनेका छौँ । आपूर्ति श्रृङ्खलामा हाम्रो समस्या छैन, डिस्ट्रिब्युसनमा अलिकति समस्या हो, त्यो हामीले स्वीकार गर्नुपर्छ । हामी क्रमशः त्यसलाई सुधार गर्ने पक्षमा छौं । हुन सक्छ अझै ८–१० दिन १५ दिन यो स्थिति रहला तर जति आवश्यक छ त्यत्ति मात्रै लिइदिउँ होल्डिङ नगरौं । यही टेकुमा पनि साइकलमा लिएर आउने ३–४ चोटी त्यही मान्छे आएको देखियो ।’
उहाँकाअनुसार हाल भारतबाट दैनिक ग्यास बुलेटको लोडिङ बढाइएको छ । तर हल्दिया र दुर्गापुर डिपोमा मर्मत कार्य चलिरहेका कारण टाढाका डिपोबाट ग्यास ल्याउनुपर्दा ढुवानी व्यवस्थापनमा चुनौती थपिएको उहाँले जानकारी दिनुभयो । निगमले भारतसँग दैनिक बुलेट लोडिङ बढाउन समन्वय गरिरहेको उहाँले बताउनु भयो । उहाँले अझै १५ दिनसम्म ग्यास वितरणमा केही समस्या देखिन सक्ने बताउनु भयो ।





