
कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते भई उपचाररत रविन्द्र मेहताको मंगलवार उपचारका क्रममा मृत्यु भएको छ। मृत्युपश्चात उहाँका परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री सुधन गुरुङसँग मृतकका परिवारको छलफल भएपनि सहमति हुन नसकेपछि परिवारले शव बुझ्न अस्वीकार गरेको हो।


मृतकका दाजु रोशन मेहताले घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा नल्याएसम्म सरकारसँग कुनै सहमति नहुने स्पष्ट पार्नुभयो। उहाँले गोली चलाउने प्रहरी र घटनामा संलग्न अन्य व्यक्तिमाथि तत्काल पक्राउ पुर्जी जारी गरी कारबाही गर्नुपर्ने माग राख्नुभयो।

रोशन मेहताले भन्नुभयो, “जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म शव बुझ्दैनौँ। दोषीलाई तत्काल पक्राउ गरेर कानूनी कारबाही गर्नुपर्छ। त्यसपछि मात्रै सरकारसँग थप सहमति हुन सक्छ।”
छलफलका क्रममा गृहमन्त्रीले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन भइसकेको र समितिको प्रतिवेदनका आधारमा दोषीमाथि आवश्यक कारबाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको परिवारले जनाएको छ। यसअघि सरकारले सोही घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, दोषीमाथि कानूनी कारबाही गर्ने, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति गरेको थियो।

रविन्द्र मेहताको परिवारले पनि सोही प्रकृतिको सहमति र दोषीमाथि तत्काल कानूनी कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेको जनाएको छ।




