
काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज दिउँसो काठमाडौं ल्याइएको छ ।
गुरुङको शव आज कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याइएको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा उनका परिवारका सदस्य, आफन्त, साथीभाइ, पर्वतारोहण समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरू उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।


यही दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को शव भने नेपाल ल्याउने वा उनको पारिवारिक बसोबास रहेको बेलायत लैजाने भन्नेबारे निर्णय नभएको बताइएको छ ।

पुर्जाको शव दुर्घटनाको सातौं दिन अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि बुधबार मात्र हिमालबाट सुरक्षित रूपमा आधार शिविर झारिएको थियो भने आज हेलिकप्टरबाट स्कर्दु पुर्याइएको छ ।




