
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलका फरवार्ड भिनिसियस जुनियरलाई क्लबमै राख्न सुधारिएको नयाँ सम्झौता प्रस्ताव गरेको छ ।
२६ वर्षीय भिनिसियसको हालको सम्झौता अब १२ महिनामात्र बाँकी रहेको छ । पछिल्लो समय उनलाई इंग्लिस क्लब आर्सनलले पनि भित्र्याउन चासो देखाउँदै आएको छ ।

रियल म्याड्रिड र भिनिसियसका प्रतिनिधिबीच नयाँ सम्झौताका लागि भइरहेको छलफल केही समयदेखि रोकिएको थियो । तर रियलले नयाँ प्रस्ताव अघि सारेपछि भिनिसियसले पनि त्यसलाई सकारात्मक रूपमा लिएको दाबि गरिएको छ ।
अब रियल म्याड्रिड भिनिसियसको निर्णयको प्रतीक्षामा रहेको छ । क्लबका वरिष्ठ अधिकारीहरू, जसमा पुनः मुख्य प्रशिक्षक बनेका जोसे मोरिन्होसमेत रहेका छन्, भिनिसियसले सम्झौता नवीकरण गर्नेमा आशावादी रहेको बताइएको छ ।


रियलले भिनिसियसबाट केही दिनभित्र नभई केही घण्टामै जवाफ पाउने अपेक्षा गरेको छ । यदि उनले नयाँ सम्झौता अस्वीकार गरेमा आर्सनलले उनलाई अनुबन्ध गर्ने प्रयासलाई तीव्र बनाउने तयारी गरेको छ ।

भिनिसियसले तीन वर्षअघि रियलसँग सम्झौता थप गरेका थिए, जुन सन् २०२७ सम्म कायम छ । तर क्लब र उनका प्रतिनिधिबीच पछिल्लो १८ महिनादेखि नयाँ सम्झौताका लागि छलफल हुँदै आएको थियो ।
विश्वकपमा ब्राजिलबाट खेलेपछि भिनिसियस सोमबार रियलको पूर्वसिजन प्रशिक्षण तथा स्वास्थ्य परीक्षणका लागि क्लब फर्किएका छन् ।

रियल म्याड्रिडका लागि सबै प्रतियोगितामा ३७५ खेल खेलेका भिनिसियसले १२८ गोल गरेका छन् । उनी आर्थिक रूपमा पनि आफूलाई क्लबको प्रमुख खेलाडीका रूपमा सम्मान दिइनुपर्ने चाहनामा रहेको बताइएको छ ।
तर रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको नेतृत्वमा रहेको क्लबले खेलाडीको पारिश्रमिक संरचना कायम राख्न कडा नीति अपनाउँदै आएको छ । भिनिसियसले यसअघि सार्वजनिक रूपमा रियल म्याड्रिडलाई ‘आफ्नो सपनाको क्लब’ भन्दै धेरै वर्षसम्म यहीँ रहने इच्छा व्यक्त गरेका थिए ।
यता आर्सनलले भने भिनिसियसको अवस्था परिवर्तन भएमा उनलाई अनुबन्ध गर्ने योजना बनाएको दाबि गरिएको छ ।




