रास्वपाको सांसदमाथि कडाइ : प्रधानमन्त्री बालेनविरुद्ध बोल्ने सांसदको हाजिरी छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहप्रति संसद्मा आक्रामक रूपमा प्रस्तुत भइरहेका आफ्ना सांसदमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडाइ थालेको छ। पार्टीले सांसदहरूको संसद् बैठकमा उपस्थिति र हाजिरी विश्लेषण गर्न समिति गठन गरेको हो।

रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई हाजिरी विवरण अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

समितिले २०८३ असार ३० र ३१ तथा साउन १४, १८ र २२ गतेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थितिको विश्लेषण गर्नेछ।

संसद्मा सांसद मनिष झा, रमेश प्रसाईलगायतले सरकारको चर्को आलोचना गरिरहेका बेला रास्वपाले सांसदहरूको हाजिरीमाथि निगरानी बढाएको हो।