
काठमाडौं । गत वैशाख १२ गते काठमाडौंका नदीकिनारबाट उठाएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूस्वामित्वसहित स्थायी पुनर्स्थापना र विस्थापनबाट भएको क्षतिपूर्तिको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
मोर्चाको काठमाडौं उपत्यका विशेष समितिका इन्चार्ज दल मर्दन कामी, अध्यक्ष कुमार राई र सचिव अरुण बस्नेतले गरेको संयुक्त हस्ताक्षरमा शुक्रबार अनामनगरस्थित राष्ट्रिय प्रेस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

मोर्चाले काठमाडौं उपत्यकाका थापाथली, शान्तिनगर, गैरीगाउँ, मनहरा, जडीबुटीलगायतका बस्तीमा लामो समयदेखि बसोबास गर्दै आएका परिवारलाई उचित वैकल्पिक व्यवस्थापन र पुनर्स्थापनाबिना विस्थापित गरिएको आरोप लगाएको छ । विस्थापित परिवारलाई राखिएको होल्डिङ सेन्टरको अवस्था समेत अमानवीय र असुरक्षित रहेको मोर्चाको दाबी छ ।
मोर्चाले भूस्वामित्वसहित स्थायी पुनर्स्थापना, विस्थापनबाट भएको क्षतिको उचित क्षतिपूर्ति, होल्डिङ सेन्टरमा रहेका परिवारको मानवीय संरक्षण तथा भूमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासिको कानुनसम्मत लगत प्रमाणीकरण, नापजाँच र जग्गाधनी पुर्जा वितरणलाई मुख्य माग बनाएको छ ।

घोषित कार्यक्रमअनुसार साउन २२ गते उपत्यकाका पीडित परिवारका सदस्यलाई आफ्नो हकअधिकार कसरी सुनिश्चित गर्ने गराउने बारे प्रशिक्षण सहितको बैठकले गरेको निर्णय अनुसार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार साउन २३ गते मनहरा प्रभावित बस्तीमा ध्यानाकर्षण, साउन २६ गते काठमाडौं उपत्यकाका सम्बन्धित स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र, साउन २८ गते भूमि समस्या समाधान समितिका कार्यालयमा ध्यानाकर्षणपत्र र साउन ३१ गते राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षणपत्र बुझाइने मोर्चाले जनाएको छ ।

त्यस्तै, भदौ ४ गते माइतीघर मण्डलामा बृहत् खबरदारी सभा तथा भदौ ७ गते नागरिक समाज, राजनीतिक दल, मानव अधिकारकर्मी, कानुन व्यवसायी, बुद्धिजीवी र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने जनाएको छ ।
माग सम्बोधन नभए भदौ १२ गतेदेखि अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह धर्ना सुरु गर्ने मोर्चाले चेतावनी दिएको छ । मोर्चाले सरकारलाई तत्काल संवादमा आउन र सम्मानजनक तथा दिगो पुनर्स्थापनाको ठोस योजना सार्वजनिक गर्न आग्रह समेत गरेको छ ।





