‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताउनुभएको छ ।
राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष लिङदेनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्तरसंघर्ष वा विगतका कुनैपनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै उहाँले आफू सबैको अभिभावक भएर काम गर्ने बताउनु भयो ।

यद्यपि, जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा कुनै स्थान नहुने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिन कि भनेर डराउनु पर्दैन । सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु । काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैँ धकेलेर बिदा गरिदिन्छु । पहिले आफ्नो परिवारका सदस्यहरूलाई राप्रपामा आवद्ध गराउनुस् । आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन् ।’

पार्टीको सङ्गठन सुदृढीकरणका लागि अहिले सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै अध्यक्ष लिङदेनले यस कार्यमा तत्काल केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । अध्यक्ष लिङदेनले योजनावद्ध ढङ्गले नातागोता र छरछिमेक हुँदै सङ्गठन विस्तारमा लाग्न आग्रह गर्दै निकट भविष्यमा राप्रपामा जनलहर आउने दाबी समेत गर्नुभयो । इमान्दार भएर वडा जिताउने र पार्टीको जिम्मेवारी बहन गर्ने संकल्पका साथ अघि बढ्न उहाँले कार्यकर्तालाई हौसला दिनुभयो ।