
काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको सुरक्षामा खटिएका प्रहरी जवानको ड्युटीका क्रममा मृत्यु भएको छ ।
मुम्बई प्रहरीका अनुसार उनी पछिल्ला केही वर्षदेखि सलमान खानको सुरक्षामा खटिँदै आएका थिए । उनी शुक्रबार सलमानको घरबाहिर सुरक्षाको जिम्मेवारीमा थिए । शुक्रबार ड्युटीमै रहेका बेला उनलाई अचानक चक्कर आएको थियो। उनी त्यहीँ ढलेपछि घटनास्थलमा रहेका अन्य प्रहरी तथा सुरक्षाकर्मीले तत्काल नजिकैको अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि उनलाई मृत घोषणा गरेका थिए ।


मुम्बई प्रहरीका एक अधिकारीका अनुसार चिकित्सकबाट प्राप्त प्रारम्भिक जानकारीमा उनको मृत्यु हृदयाघातका कारण भएको देखिएको छ । अस्पताल लैजाँदै गर्दा नै उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

सलमान खानलाई पछिल्लो समय लगातार धम्की आउँदै आएका कारण उनको घरबाहिर चौबीसै घण्टा प्रहरी तथा निजी सुरक्षाकर्मी परिचालन गरिएको छ । उनको नाम गणेश रयाते रहेको र सुरक्षा टोलीमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका थिए ।




