
अमेरिकी सिनेटले टोड ब्ल्यान्चलाई देशको नयाँ महान्यायाधिवक्ता (एटर्नी जनरल) का रूपमा नियुक्तिको अनुमोदन गरेको छ । शनिवार बिहान भएको मतदानमा ब्ल्यान्चको पक्षमा बहुमत जुटेको हो । रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटमा ब्ल्यान्चको पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो ।
रिपब्लिकन पार्टीका अधिकांश सदस्यहरूले ब्ल्यान्चको समर्थन गरे पनि मेन राज्यकी सिनेटर सुसान कोलिन्स र अलास्काकी लिसा मुर्कोव्स्कीले भने उनको विपक्षमा मतदान गरेका थिए । पूर्व सङ्घीय अभियोजक समेत रहेका ब्ल्यान्च अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिल हुन् । उनले सन् २०२५ मार्चदेखि उप–महान्यायाधिवक्ताको रूपमा र पाम बोन्डीको बर्खास्तीपछि गत अप्रिलदेखि कार्यवाहक महान्यायाधिवक्ताको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।


महान्यायाधिवक्तामा ब्ल्यान्चको मनोनयनलाई लिएर रिपब्लिकन पार्टीभित्रै केही समय विवाद उत्पन्न भएको थियो । न्याय विभागले राजनीतिक रूपमा प्रेरित मुद्दाहरूको सामना गरेका कथित पीडितहरूका लागि करिव १.८ बिलियन अमेरिकी डलरको एन्टी–वेपनाइजेसन फन्ड स्थापना गर्ने प्रस्ताव गरेपछि उनको आलोचना भएको थियो । आलोचकहरूले उक्त कोषको रकम सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल हिलमा भएको आक्रमणमा संलग्न भई कानूनी कारबाही भोगेका ट्रम्प समर्थकहरूलाई क्षतिपूर्ति दिन प्रयोग हुन सक्ने भन्दै आशङ्का व्यक्त गरेका थिए ।

रिपब्लिकन सिनेटरहरूको कडा विरोध र सङ्घीय न्यायपालिकाको दबाबपछि ब्ल्यान्चले उक्त विवादित प्रश्ताव फिर्ता लिएका थिए । गत जुन महिनामा प्रतिनिधि सभाको विनियोजन उपसमितिको सुनुवाइका क्रममा उनले न्याय विभागले उक्त कोषको योजनालाई अगाडि नबढाउने स्पष्ट पारेका थिए ।
अमेरिकी महान्यायाधिवक्ता मुलुकको सर्वोच्च कानुनी कार्यान्वयन अधिकारी हुन्, जसले न्याय विभागको नेतृत्व गर्छन् ।





