१५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताउनुभएको हो । उहाँले पार्टी विधान र कानूनअनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको तर्क गर्नुभयो ।

पार्टीको वृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई पार्टी सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अपनाउँदा केही समय लागेको लारिहेको पनि उहाँको भनाइ छ । सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सामान्य रुपमा लिएको भन्दै पुनः न्यायालयको सामना गर्ने बताउनु भयो ।

उहाँले पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै  निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको महाधिवेशनको लागि जुन मिति तय गरिएको छ त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन । किनभने हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ । नेपालको कानूनको व्यवस्था पनि त्यही छ । त्यसकारण असोज १६–१९ गतेसम्म जुन कार्यतालिका तोकिएको छ त्यही कुरामा हुन्छ । त्यो हाम्रो अन्तिम विषय नै हो । अब यसमा पार्टीको बृहत्तर एकताको निम्ति छुट्नुभएका सबै नेता तथा साथीहरुले पार्टीको सदस्यता अद्यावधिक गर्ने कुरामँ बढीभन्दा बढी साथिहरु र नेताहरुलाई सहभागि गराऔँ भनेर उहाँले कार्यतालिका बनाउँदै परिवर्तन गरिरहनुभएको छ । सहज बनाउँदै गर्दा केही समय लागेको छ । त्यसकारण वडा अधिवेशन जुन प्रारम्भ गर्ने कुरा छ त्यसमा एकदुई दिन तलमाथि नहुने गरि  गर्नुपर्छ भन्नेकुरा उहाँहरुको छ । हामीले यसमा छलफल गरेर बैठकबाट टुंग्याउँ । विशेष महाधिवेशनको विषयमा हिजो सत्य भएको कुरा फेरी पनि सत्य नै हुन्छ । यसबारे सरकारका केही व्यक्तिको कुरा पनि साथिहरु सुनाउँछन् । तर कुनै व्यक्तिहरुको कारण संस्थाको आलोचना गर्नुहुँदैन । यसले संस्थाहरुमाथिको विश्वास घटाउँछ । पञ्चायत कालमा पनि न्यायालयमाथि विश्वास गरेर जानुभएको वीपी कोइरालाका कार्यकर्ता हौँ हामीहरु । त्यसकारण हामी न्यायालयमाथि विश्वास राख्नुपर्छ राख्छौँ । अन्य राजनीतिक कुराहरु त समयक्रमसँगै खुल्दै गइहाल्छन् नि ।’

उहाँले १५ औँ महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने कुरामा समेत जारी बैठकमा छलफल गर्नुपर्ने बताउनु भयो ।