
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूविरुद्ध गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरेका हुन् । उनले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे । उनले भने- ‘माथि खाइ न पाइ छालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ । ममाथि गम्भीर किसिमका आरोपहरू लगाइएका छन् । रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएको छ ।’


उनले अगाडी भने- ‘यदि त्यो भिडियो मेरो होइन, गलत सूचना दिइयो भने प्रहरीले कारबाही किन गरेको छैन ? सरकारले त्यस्ता व्यक्तिलाई कारबाही किन गरेको छैन ? यसको जवाफ माग्छु म । किनभने प्रहरीलाई निवेदन दिइसकेका छौँ ।’





