
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले होर्मुज जलडमरूमध्यमा उपलब्ध गराइने सामुद्रिक सेवाबापत शुल्क लिइनुपर्ने बताउनुभएको छ । सोमवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा राख्नुभएको हो । इरान र ओमानबीच यस जलक्षेत्रमा नयाँ मार्ग निर्धारण गर्ने विषयमा भइरहेको वार्ताका क्रममा सेवा शुल्कबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता बाघेईले भन्नुभयो, ‘सामान्यतया, जब सामुन्द्रिक सेवाहरू उपलब्ध गराइन्छ, त्यसको उचित सोधभर्ना हुनुपर्दछ ।’
यद्यपि, हाल यसबारे विस्तृत विवरणमा छलफल नभएको र केही प्राविधिक बुँदाहरूमा संवाद जारी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
बाघेईले इरान र ओमानबीचको वार्ता सकारात्मक र रचनात्मक रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । प्रश्तावित सम्झौताअनुसार सुरक्षित ढुवानी सुनिश्चित गर्न, वातावरणीय मुद्दाहरू सम्बोधन गर्न, सामुन्द्रिक सेवाहरू प्रदान गर्न र यस क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न आवश्यक संयन्त्रहरू स्थापना गरिनेछ ।


सम्भावित सम्झौताअन्तर्गत, जलडमरूमध्यमा हाल रहेका उत्तरी र दक्षिणी मार्गहरूलाई विस्थापित गरी एउटा मध्यवर्ती मार्ग प्रयोगमा ल्याइने इरानको योजना छ । दुवै देशले नयाँ ट्राफिक व्यवस्थापन प्रणालीमा सहमति नजनाएसम्म यो नयाँ मार्ग अस्थायी रूपमा प्रयोग गरिने उहाँले बताउनु भयो ।

होर्मुज जलडमरूमध्यको अवरोधका सम्बन्धमा बोल्दै प्रवक्ता बाघेईले यसका लागि अमेरिका र इजरायलको सैन्य आक्रामकता जिम्मेवार रहेको आरोप लगाउनु भयो । उहाँले इरानमाथि थोपरिएका प्रतिकूल परिस्थितिहरू हटेपछि मात्र जलमार्ग पुनः सञ्चालन हुनसक्ने सङ्केत गर्नुभयो ।
अमेरिका र इरानबीचको सम्बन्धका बारेमा स्पष्ट पार्दै उहाँले इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगरेको तर मध्यस्थकर्तामार्फत सन्देशहरूको आदानप्रदान भइरहेको पुनः दोहो¥याउनु भयो ।
गत फेब्रुअरी २८ मा इरानी भूभागमा अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कडा पारेको थियो । जुन १८ मा इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएपनि पछिल्लो समय बढ्दो तनावका कारण वार्ताको भविष्य अनिश्चित बनेको छ ।





