
बेइजिङ, २६ साउन । चीनले भ्रष्टाचारविरुद्ध निरन्तर अभियान सञ्चालन गर्दै आएको छ।
यसै प्रयासको एक भागका रूपमा सन् २०२५ मा मात्रै भ्रष्टाचारको आरोपमा ९ लाख ८३ हजार मानिसहरू पक्राउ परेका छन् ।


यस क्रममा दैनिक औसतमा करिब २,७०० सरकारी कर्मचारी तथा अधिकारीहरू पक्राउ परेका थिए। सन् २०१२, जुन वर्ष सी चिनफिङ पहिलो पटक चीनको राष्ट्रपतिमा नियुक्त भएका थिए, यता भ्रष्टाचारको आरोपमा ७० लाखभन्दा बढी सरकारी कर्मचारीहरू पक्राउ परिसकेका छन्।

द वाल स्ट्रिट जर्नलका अनुसार यो अभियान राष्ट्रपति सी जिनपिङको निर्देशनमा सञ्चालन भइरहेको छ। यस उद्देश्यका लागि अनुसन्धान निकायले भ्रष्ट कर्मचारी तथा अधिकारीहरूबारे जानकारी उपलब्ध गराउने जिम्मेवारीसहित सुराकीहरू परिचालन गरेको छ।
समाचारहरूका अनुसार सूचना दिने व्यक्तिहरूलाई एउटा सूचना उपलब्ध गराएबापत १०० युआन सम्म भुक्तानी गरिन्छ। उनीहरूको भूमिका आधारभूत जानकारी उपलब्ध गराउनमा मात्र सीमित हुन्छ, त्यसपछि अनुसन्धान निकायले थप कारबाही अघि बढाउँछ।

यस उद्देश्यका लागि चीनले निगरानीकर्ताको रूपमा काम गर्न पार्टीका कार्यकर्ताहरू खटाएको छ। उनीहरूको काम भ्रष्ट अधिकारीहरूबारे गोप्य जानकारी सङ्कलन गर्नु हो।
यो जानकारी ‘वीच्याट’मार्फत सम्बन्धित अधिकारीहरूसम्म पुर्याइन्छ। प्रायःजसो प्रमाण सजिलै सङ्कलन गर्न सकियोस् भनेर अधिकारीहरूलाई भ्रष्ट अधिकृतहरू संलग्न भएका समूहहरूमा गोप्य रूपमा समावेश गरिन्छ।

चीनमा भ्रष्टाचार उन्मूलन गर्ने प्रयासको नेतृत्व स्वयं सी जिनपिङले गरिरहेका छन । यसै वर्षको सुरुमा उनले भ्रष्टाचारलाई मुख्य मुद्दाका रूपमा उजागर गर्ने एउटा पुस्तक सार्वजनिक गरेका थिए ।
यसका साथै, चीनमा भ्रष्टाचारको आरोपमा धेरै उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरिसकिएको छ। यस वर्ष चीनले सेनाका उपाध्यक्ष हे वेइडोङजस्ता वरिष्ठ अधिकारीहरूलाईसमेत पक्राउ गरेको छ। विगत १२ महिनाको अवधिमा चिनियाँ सेनाका ९ जना अधिकारीहरू पक्राउ परिसकेका छन्।
गत महिना मात्रै चीनले भ्रष्टाचारको मुद्दामा दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
यी दुवै पूर्व रक्षामन्त्रीलाई दुई वर्षपछि मृत्युदण्ड दिइनेछ।





