
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो । प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा बचत रकम फिर्ता गरिएको प्राधिकरणले जनाएको छ । यससँगै बचत रकम फिर्ता गरिएका सहकारी संस्थामा संकटा बचत तथा ऋण, वीर विनायक बचत तथा ऋण, समदर्शी उपभोक्ता, पूर्वोदय बचत तथा ऋण, अर्थ बहुउद्देश्यीय, श्वेत भैरव बचत तथा ऋण, सिर्जनशील बचत तथा ऋण, ब्रिटिस गोर्खा बचत तथा ऋण, गेनबेल बचत तथा ऋण र शोभा भगवती बहुउद्देश्यीय सहकारी रहेका छन् । प्राधिकरणले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ ।


२- अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले आफ्नो बुबालाई सम्झिँदै भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले अन्तिम पटक विश्वकप खेल्न आफूलाई आग्रह गरिरहने बुबाको स्वास्थ्य विश्वकप सुरु हुन केही दिनअघि गम्भीर बनेको स्मरण गरेका छन् । मेसीका अनुसार प्रतियोगितामा पहिलोपटक उनका बुबा उनीसँगै उपस्थित हुन नसक्ने अवस्था बनेको थियो । तर आमाले बुबाको स्वास्थ्यमा सुधार आउने र यात्रा गर्न सक्ने अवस्था हुने बताउँदै उनलाई ढाडस दिइरहेकी थिइन् । मेसीले बुबालाई आफूहरू विश्वकपको फाइनलसम्म पुग्ने र त्यसपछि उनले यात्रा गरेर खेल हेर्न सक्ने बताइरहेका थिए । उनका लागि फाइनलसम्म पुग्नु फेरि एकपटक मुख्य लक्ष्य बनेको थियो । हरेक खेलपछि आफूले बुबाको सन्देशको प्रतीक्षा गर्ने गरेको तर सन्देश नआएपछि मात्रै अवस्था कति गम्भीर रहेछ भन्ने महसुस भएको मेसीले बताएका छन् । उनले विश्वकपमा सकेसम्म अगाडि बढेर बुबालाई अझ केही समय दिन र कम्तीमा एउटा खेल प्रत्यक्ष हेर्ने अवसर दिलाउन सकियोस् भन्ने सोचिरहने गरेको बताए । अर्जेन्टिना फाइनलसम्म पुग्यो । तर उनका बुबा खेल हेर्न उपस्थित हुन सकेनन् । मेसीले विश्वकप जितेर ट्रफी बुबालाई देखाउने र अर्को उपाधि उनलाई समर्पित गर्ने चाहना राखेका थिए। तर त्यो पूरा हुन सकेन । मेसीले आफूले शारीरिक रूपमा थप खेल्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । शरीरले साथ नदिए पनि आफूले आफ्नो क्षमताभन्दा बढी प्रयास गरेको उनको भनाइ छ । उनले प्रतियोगिताका क्रममा आफूले कहिल्यै शारीरिक रूपमा पूर्ण रूपमा सहज महसुस गर्न नसकेको पनि बताएका छन् । अर्जेन्टिना विश्व च्याम्पियन बन्न नसके पनि प्रतियोगिताका हरेक खेल आफूहरूले निकै आनन्दका साथ खेलेको मेसीले बताएका छन् । मेसीले बुबालाई सम्बोधन गर्दै भनेका छन्- ‘हामी च्याम्पियन बन्न सकेनौँ बुबा, तर हामीले हरेक खेलमा कति आनन्द लियौँ, तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न । फेरि एकपटक तपाईं सही हुनुहुन्थ्यो, म त्यहाँ हुनुपर्थ्यो र खेल्नुपर्थ्यो । तपाईंले सधैँ भन्नु भएझैँ ।’ मेसीका बुबाको ६८ बर्षको उमेरमा यहि साउन २३ गते निधन भएको थियो ।

३- विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले भट्टलाई थुनामा पठाउने आदेश दिएको हो । थुनछेक बहसपछि अदालतले व्यवसायी भट्टलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालत प्रशासनले जनाएको छ । उनीविरुद्ध जेठ २८ गते सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धिकरण अन्तर्गत २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ विगो माग गर्दै मुद्धा दाएर गरिएको थियो ।
४- दुर्गा प्रसाई र डा. धवलशमशेर राणाले खोल्न लागेको नयाँ ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुने भएको छ । पार्टी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै कार्यदलको निर्णयअनुसार साउन २९ गते शुक्रबार दल दर्ता गरिने डा. धवलशमशेर राणाले जानकारी दिएका छन् । दल दर्ताको कार्यक्रम शुक्रबार दिउँसो १२: १५ बजे निर्वाचन आयोग, कान्तिपथमा हुने जनाइएको छ । राणाले नयाँ दलमा आबद्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई दल दर्ताको कार्यक्रममा उपस्थित भएर उत्साह थप्न आग्रह गरेका छन् ।

५- सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षकको हाजिरी र बिदा अभिलेखमा हेरफेर गरी सरकारी रकम निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंह विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अनुसन्धानका क्रममा प्रियंका कुमारी सिंह २०७९ साल वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेको पाइएको छ। तर तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवले शिक्षा ऐनबमोजिम कारबाही गर्नुको सट्टा हाजिरी रजिस्टर खाली राखी पछि एकमुष्ट हाजिरी गराएको अख्तियारको आरोप छ। यादवले उक्त हाजिरीमा मसी मेटाउने सामग्री प्रयोग गरी पुनः हाजिरी गराएको र अनुपस्थित अवधिको हाजिरी विवरणसमेत मलंगवा नगरपालिकामा पेस गरी तलब निकासा माग गरेको अनुसन्धानबाट खुलेको छ । सो क्रममा २ लाख ९० हजार ४३४ रुपैयाँ निकासा भएको थियो। त्यस्तै, २०७९ साल श्रावणदेखि कात्तिकसम्मको २ लाख ४० हजार ९१४ तथा वैशाख, जेठ र असारको १ लाख ३० हजार १२१ रुपैयाँसमेत गरी अनुपस्थित शिक्षकका नाममा जम्मा ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा निकासा गरी भुक्तानी गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजातमा हेरफेर गरी सरकारी रकम हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको भन्दै दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १७ बमोजिम कारबाहीको मागदाबी गरेको छ । आयोगले दुवै प्रतिवादीविरुद्ध सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।


६- जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभाग अन्तर्गत सञ्चालित अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न विशेष संयन्त्र बनाएको छ । लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकेको, निर्धारित समयावधि नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले सो संयन्त्र निर्माण गरेको हो । यसमार्फत आयोजनाको स्थलगत प्रगति, भौतिक तथा आर्थिक अवस्था, निर्माणको समय तालिका, प्रमुख समस्या र समाधानका लागि चालिएको कदमको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विभागबाट नियमित अनुगमन तथा समन्वय हुनेछ । समस्याको पहिचान गरी जिम्मेवार निकाय तोक्ने, समाधानको समयसीमा निर्धारण गर्ने र त्यसको फलोअप गर्ने प्रणालीसमेत विकास गरिने विभागले जनाएको छ । यसै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको प्रगति, आगामी कार्ययोजना तयार गर्न आगामी साता सबै आयोजना प्रमुखहरुसँग बैठकसमेत बोलाएका छन् । प्रारम्भिक चरणमा विभागअन्तर्गतको महाकाली (तेस्रो) सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना तथा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई प्राथमिकतामा राखेर अनुगमन गर्ने योजना रहेको छ । ती आयोजनाको प्रगति विवरण संकलन गर्ने संयन्त्रका रूपमा मात्र नभई समस्या पहिचान, तत्काल कार्य, जिम्मेवारी निर्धारण र परिणामको फलोअप गर्ने नतिजामुखी प्रणालीका रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । यसबाट लामो समयदेखि अघि बढिरहेका राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समय, लागत र गुणस्तरभित्र सम्पन्न गर्न थप जवाफदेहिता सिर्जना हुने अपेक्षा गरिएको छ । आयोजना अन्तर्गतका मुख्य–मुख्य संरचनाको निर्माणस्थल तथा आयोजना कार्यालयबाट प्राप्त विवरणलाई विभागबाट सिधैं अनुगमन प्रणालीमा समेटी नियमित समीक्षा गर्ने तयारी गरिएको विभागले जनाएको छ ।
७- नेपाली काँग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । कोशी प्रदेश सरकारमा रहेका काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिएका हुन् । कांग्रेसबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् । केन्द्रमा भएको एमाले र नेकपाबीचको सहमति अनुसार कोशी प्रदेशको मुख्यमन्त्री एमाले कै भागमा परेको र कार्कीले नै निरन्तरता पाउने भएपछि काँग्रेस सरकारबाट बाहिरिएको हो । कांग्रेस सरकारबाट बाहिरिएपछि प्रदेशमा नयाँ सरकार गठन हुने र नेकपासहितको सरकार बन्ने भएको छ ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको टिप्पणी गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको र माइतीघरमा अझै नागरिकका गुनासा र प्रदर्शन देखिनु चिन्ताको विषय भएको बताएका हुन् । उनले भने- ‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ। तर आवाजहरू उस्तै देखिएका छन्। म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु। आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन ।’ लामिछानेले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए । चार महिनामै सबै परिवर्तन सम्भव नभए पनि नागरिकका अपेक्षा सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । उनले युवा सांसद तथा मन्त्रीहरूलाई पदमा रमाउनेभन्दा जिम्मेवारी पूरा गर्न केन्द्रित हुन आग्रह गरे । अहिलेको पुस्ताले अवसरलाई सही ढंगले उपयोग गर्न नसके आगामी पुस्ताले पनि त्यस्तो अवसर नपाउने उनको चेतावनी थियो । विगतमा युवा नेतृत्वको अभाव भन्दै आफूहरूले उमेरका आधारमा अनुभवी पुस्ताको आलोचना र अपमानसमेत गरेको हुन सक्ने लामिछानेले स्वीकार गरे । अहिले ठूलो संख्यामा युवा सांसद हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम भएको भन्दै उनले युवा नेतृत्व सरकारमा आउनु मात्रै वर्षौँदेखिको सपना पूरा हुनु नभएको बताए । लामिछानेले चुनावको परिणाम र प्रतिनिधिसभामा युवाको उपस्थितिलाई अब काम र परिणाममा रूपान्तरण गर्नुपर्ने चुनौती रहेको धारणा राखेका थिए ।
९- चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ । वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफूलहरू सामुहिक रूपमा खुवाइएको थियो । उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्राईगन फ्रुट, केरा, फर्सी, खरभुजा लगायतको परिकार खान दिइएको थियो । वनभोजमा सरकारी र निजी गरी ६० वटा हात्तीहरू सहभागी रहेका थिए । सधै जंगल गस्ती र पर्यटकलाई जगल सफारी गराउन व्यस्त रहने हात्तीहरू वनभोजमा रमाएका थिए । युनाईटेड हात्ती सहकारी संस्थाको आयोजनामा बिभिन्न सामुदायिक वनहरूको सहयोगमा हात्ती दिवस तथा हात्तीलाई वाभोज कार्यक्रमको आयोजना हुँदै आएको छ । यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ । नेपालमा करिब २५० देखि ४०० वटा वन्य हात्ती रहेको अनुमान छ भने करिब १९० घरपालुवा हात्ती रहेको बताइन्छ ।

१०- एनसेलको सेयर खरिद-बिक्री प्रकरणबारे अध्ययन गर्न गठित छानबिन समितिले कारोबारको प्रक्रिया, सेयर मूल्यांकन, कर दायित्व र विदेशी लगानीसँग सम्बन्धित विषयमा गम्भीर प्रश्न उठाउँदै थप छानबिन गर्न सुझाव दिएको छ । पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको अध्यक्षतामा गठित समितिले एनसेलको सेयर स्वामित्व हस्तान्तरण गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति नलिइएको, सेयरको मूल्यांकन अस्वाभाविक रूपमा कम देखिएको र कारोबारमा पारदर्शिताको प्रश्न उठेको निष्कर्ष निकालेको छ । समितिका अनुसार मलेसियाली कम्पनी आजियाटा समूहले एनसेलमा रहेको ८० प्रतिशत स्वामित्व बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट इन्भेस्टमेन्ट युकेलाई बिक्री गर्ने सम्झौता गरेको थियो। स्पेक्ट्रलाइट नेपाली मूलका सिंगापुरका नागरिक सतिशलाल आचार्यसँग सम्बन्धित रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले विभिन्न तहका विदेशस्थित कम्पनीमार्फत कारोबार गरिएको विषयमा कर छली, विदेशी मुद्रा अपचलन, सम्पत्ति शुद्धीकरण तथा वास्तविक स्वामित्व लुकाउने प्रयास भए–नभएको थप अनुसन्धान गर्नुपर्ने औँल्याएको छ । एनसेलले हालसम्म राज्यलाई करिब २ खर्ब रुपैयाँ कर र १ अर्ब रुपैयाँ गैरकर राजस्व बुझाएको प्रतिवेदनमा उल्लेख छ। कम्पनीले यस अवधिमा करिब १ खर्ब १३ अर्ब रुपैयाँ नाफा गरेको तथा ९३ अर्ब रुपैयाँभन्दा बढी लाभांश घोषणा गरेको जनाएको छ। त्यसमध्ये करिब ६६ अर्ब रुपैयाँ विदेश पठाइएको र करिब १९ अर्ब रुपैयाँ नेपाली नागरिकले प्राप्त गरेको उल्लेख छ। समितिले दूरसञ्चार ऐनअनुसार ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएको दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्रको अवधि समाप्त भएपछि त्यसको दूरसञ्चार प्रणाली नेपाल सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ । एनसेलको २५ वर्षे अनुमतिपत्रको अवधि २०२९ सालमा समाप्त हुँदैछ । त्यसअघि नै स्वामित्व परिवर्तन गरिएकाले भविष्यमा सरकारी स्वामित्वमा आउने व्यवस्थालाई प्रभावित पार्ने उद्देश्य थियो कि थिएन भन्ने विषयमा समेत छानबिन आवश्यक रहेको समितिको निष्कर्ष छ । समितिले हालको सेयर खरिद–बिक्री कारोबार पारदर्शी र कानुनसम्मत रहेको पुष्टि नभएसम्म सम्बन्धित निकायले स्वीकृति दिन नहुने सुझाव दिएको छ । त्यस्तै, आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले कारोबारको विस्तृत कर परीक्षण गरी सम्भावित पुँजीगत लाभकर निर्धारण तथा असुली गर्नुपर्ने समितिको सुझाव छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागबाट समेत थप अनुसन्धान गर्नुपर्ने उल्लेख छ । समितिले नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियामकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ । सेवा प्रदायकका गतिविधिमा समयमै अनुगमन र आवश्यक कानुनी कारबाही गर्न प्राधिकरण कमजोर देखिएको समितिको भनाइ छ । भविष्यमा दूरसञ्चार सेवा प्रदायकको स्वामित्व वा नियन्त्रण परिवर्तन, विदेशस्थित कम्पनीमार्फत हुने सेयर कारोबार तथा होल्डिङ कम्पनीको स्वामित्व हस्तान्तरणमा पूर्वस्वीकृति अनिवार्य हुने गरी कानुनी व्यवस्था कडा बनाउन समितिले सुझाव दिएको छ । त्यसैगरी दूरसञ्चार ऐन तथा नियमावली संशोधन, नेपाल दूरसञ्चार प्राधिकरणको क्षमता अभिवृद्धि, विदेशी लगानीको वास्तविक हितग्राही पहिचान र कर तथा विदेशी लगानीसम्बन्धी कानुनबीच समन्वय गर्नुपर्ने सुझाव पनि दिइएको छ । समितिले विवाद र छानबिनका कारण आम उपभोक्ताले पाउने दूरसञ्चार सेवा प्रभावित हुन नदिन निरन्तर अनुगमन गर्न पनि प्राधिकरणलाई सुझाव दिएको छ । समितिमा अध्यक्ष टंकमणि शर्मा दंगाल तथा सदस्यहरू फणीन्द्र गौतम, रितेश कुमार शाक्य, बाबुराम भण्डारी र सुजन कुमार काफ्ले रहेका थिए ।
११- नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच लुम्बिनी प्रदेशमा सरकार गठन बारे सहमति भएको छ । सहमति अनुसार लुम्बिनी प्रदेशआमा सरकार गठनमा सहकार्य गर्ने तथा राष्ट्रिय स्वाधीनता, संबिधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ । सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड र नेपाल कमयुनिष्ट पार्टी मसालका माहामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् । सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले नै गर्ने भएको छ । ८३ सदस्यीय प्रदेश सभामा एमालेको २९, नेकपाको १३ र राष्ट्रिय जनमोर्चाको १ सिट रहेको छ ।
१२- नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज बुधबार नेप्से ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका ८७ लाख १ हजार ९४४ कित्ता शेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन वीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लार्ज क्यापको शेयर ४.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आइसीएफसी फाइनान्स डिभेन्चरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोड १९ लाख बराबरको कारोबार भएको छ भने स्प्ली हाइड्रोको १४ करोड ९५ लाख बराबरको कारोबार भएको छ ।
१३- अफगानिस्तानले भारतसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड र भारतीय क्रिकेट नियन्त्रण बोर्डले सिरिज हुने जानकारी दिएका छन् । सिरिजका तीनवटै खेल भारतको दिल्लीस्थित अरुण जेटली क्रिकेट रंगशालामा हुनेछन् । पहिलो खेल सेप्टेम्बर १३, दोस्रो सेप्टेम्बर १५ र तेस्रो खेल सेप्टेम्बर १७ मा हुनेछ । यो सिरिज अफगानिस्तानको आगामी भ्रमण कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको हो । पछिल्ला वर्षमा अफगानिस्तानले आफ्ना घरेलु खेल भारतमै आयोजना गर्दै आएको छ ।

१४- सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो । यो मार्गदर्शनले विभिन्न सरकारी कार्यालयहरूमा सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदनको ढाँचामा रहेको विविधता र अन्योललाई हटाएर देशैभर एउटै र निश्चित ढाँचा कायम हुनेछ। साथै, यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउँदै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने गरी सूचना प्रविधिमा आधारित बनाउनेछ। यस व्यवस्थाको पूर्ण कार्यान्वयनसँगै अब नागरिकले सरकारी कार्यालयपिच्छे फरक-फरक तरिकाले निवेदन लेख्नुपर्ने वा अन्योलमा पर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एपमार्फत सजिलै लिन सकिने बाटो खुला भएको छ, जसले डिजिटल नेपालको परिकल्पनालाई थप बल पुर्याउने विश्वास गरिएको छ। साथै, सरकारी आवेदन भर्न सेवाग्राहीलाई हुने झन्झट शून्यमा झार्दै कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण कार्यलाई निरुत्साहित गर्न पनि यो मार्गदर्शनले महत्वपूर्ण भूमिका खेल्नेछ। यस मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।
१५- भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले पान मसालाको प्याकेजिङमा प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध लगाएको छ । नयाँ नियमअनुसार अब पान मसाला कागज, टिन वा सिसाका भाँडामा मात्र प्याक गरेर बिक्री गर्न पाइनेछ । प्राधिकरणले खाद्य सुरक्षा तथा मानक प्याकेजिङ संशोधन नियमावली, २०२६ सार्वजनिक गर्दै नयाँ व्यवस्था तत्काल लागू गरेको हो । नयाँ नियमअनुसार पान मसालाको प्याकेजिङमा प्लास्टिक, पोलिथिन, पिभिसी, पोलिस्टर वा अन्य कृत्रिम बहुलक प्रयोग गर्न पाइने छैन । कम्पनीहरूले प्लास्टिकरहित कागज, कागजजन्य बाक्लो सामग्री, वनस्पतिजन्य रेसा वा प्राकृतिक रूपमा प्राप्त हुने अन्य सामग्री प्रयोग गर्नुपर्नेछ । टिनका डिब्बा र सिसाका भाँडालाई पनि प्याकेजिङका लागि अनुमति दिइएको छ । नयाँ नियमले प्याकेटको बाहिरी भागमा कागज प्रयोग गरेर भित्र प्लास्टिक वा चम्किलो धातुजन्य तह राख्ने विकल्पलाई समेत निषेध गरेको छ । कम्पनीले बाहिर कागजको खोल बनाएर भित्र चिस्यान रोक्न प्लास्टिक वा धातुजन्य तह प्रयोग गरेमा त्यस्तो प्याकेजिङ गैरकानुनी मानिनेछ । प्याकेजिङ भित्र र बाहिर दुवै भागबाट पूर्ण रूपमा प्लास्टिकरहित हुनुपर्नेछ । प्राधिकरणका अनुसार यो व्यवस्था मुख्य रूपमा वातावरण संरक्षणलाई ध्यानमा राखेर ल्याइएको हो । प्लास्टिक तथा धातुजन्य तह भएका पाउच लामो समयसम्म नष्ट नहुने भएकाले वातावरणमा प्रदूषण बढाउने गरेको भन्दै यस्तो व्यवस्था गरिएको हो । यो निर्णय वातावरण संरक्षणसम्बन्धी कानुनअन्तर्गत लागू गरिएको प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी नियमको प्रावधानअनुसार गरिएको हो । नयाँ व्यवस्थाले सन् २०१८ को खाद्य सुरक्षा तथा मानक प्याकेजिङ नियममा संशोधन गरेको छ । अब पान मसालालाई नियमावलीको अनुसूची ४ अन्तर्गत छुट्टै वस्तुका रूपमा समावेश गरिएको छ। उक्त अनुसूचीमा विशेष प्याकेजिङ सामग्री तथा त्यससम्बन्धी मापदण्ड आवश्यक पर्ने वस्तुहरू राखिन्छन् । प्राधिकरणले भने यो निर्णय पान मसालाको प्याकेजिङसँग मात्र सम्बन्धित रहेको स्पष्ट पारेको छ । पान मसाला उत्पादन वा बिक्रीमा भने नयाँ प्रतिबन्ध लगाइएको छैन । बजारमा यसको बिक्री यथावत् रहनेछ । प्लास्टिक, कृत्रिम बहुलक वा धातुजन्य तह भएको प्याकेजिङ प्रयोग गरिरहेमा कम्पनीमाथि खाद्य सुरक्षा तथा मानकसम्बन्धी कानुन र प्लास्टिकजन्य फोहोर व्यवस्थापन नियमअनुसार कारबाही हुने जनाइएको छ । कारबाहीमा ठूलो जरिवानादेखि उत्पादन रोक्नेसम्म र कम्पनीको अनुमति रद्द गर्नेसम्मका कदम चाल्न सकिनेछ । नयाँ प्याकेजिङ व्यवस्थाका कारण पान मसालाको मूल्य बढ्न सक्ने सम्भावना पनि देखिएको छ । प्लास्टिकका पाउचको तुलनामा कागज, टिन वा सिसाको प्याकेजिङ तयार गर्न बढी खर्च लाग्न सक्छ ।
१६- बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी आयोजना निर्माणमा सरकारले चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएको छ । समितिले जुनसुकै दलको सरकार बने पनि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको समस्या उस्तै रहेको बताएको छ । समितिले विज्ञप्ति जारी गर्दै चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीले बूढीगण्डकी आयोजना निर्माण गर्ने र डुबान क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराएको छ । उक्त पार्टीले झण्डै दुई तिहाइ बहुमतसहित सरकार बनाए पनि साढे चार महिनाको कार्यकालमा आयोजनाको अवस्था विगतका सरकारको भन्दा फरक नदेखिएको समितिको आरोप छ । डुबान क्षेत्रकै मतबाट निर्वाचित सुदन गुरुङ गृहमन्त्री र गोरखाका स्वर्णिम वाग्ले अर्थमन्त्री रहेको अवस्थामा आयोजना अघि बढ्ने अपेक्षा गरिए पनि त्यसअनुसार काम नभएको समितिले जनाएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र बोलपत्रसम्बन्धी कागजात तयार भइसकेको तथा जग्गा प्राप्तिको कामसमेत अघि बढिसकेको समितिको भनाइ छ। यसअघिको सरकारले आयोजनाको निर्माण ढाँचा समेत टुंग्याइसकेको अवस्थामा नयाँ सरकारले पुनः नयाँ ढाँचा आवश्यक रहेको बताउनु आयोजना अनिश्चित बनाउने प्रयास भएको समितिले आशंका गरेको छ । अर्थमन्त्री वाग्लेले हालको निर्माण ढाँचाबाट आयोजना अघि बढ्न नसक्ने र नयाँ ढाँचा बनाउनुपर्ने बताउँदै बजेटमार्फत आयोजना प्राधिकरणबाट अघि बढाउने उल्लेख गरेकोप्रति समितिले प्रश्न उठाएको छ । अघिल्लो सरकारले स्वीकृत गरेको निर्माण ढाँचा किन गलत भयो, प्राधिकरणमार्फत आयोजना बनाउनुपर्ने कारण के हो र प्राधिकरण गठनको काम तत्काल किन सुरु नभएको हो भन्ने विषयमा सरकारले प्रभावित बासिन्दालाई स्पष्ट जवाफ दिनुपर्ने समितिको माग छ । आफ्ना माग सम्बोधन नगरी आयोजनालाई निरन्तर अनिश्चित बनाइरहे घरजग्गा फिर्ता लिन आन्दोलन सुरु गर्ने समितिले चेतावनी दिएको छ । त्यसका लागि सडक आन्दोलनदेखि अदालतसम्म जाने अवस्था आउन सक्ने समितिले जनाएको छ ।
१७- उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट जापान सागरको दिशातर्फ संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । जापानको रक्षा मन्त्रालयका अनुसार प्रहार गरिएको संदिग्ध क्षेप्यास्त्र समुद्रमा खसेको छ । एक साताभन्दा कम अवधिमा उत्तर कोरियाले यस किसिमको हतियार परीक्षण गरेको यो दोस्रो घटना हो । दक्षिण कोरियाली समाचार संस्था योनहापले त्यहाँको सेनालाई उद्धृत गर्दै उत्तर कोरियाले पूर्वी तटबाट अज्ञात क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। पछिल्लो प्रहार क्षेत्रीय सैन्य गतिविधिलाई लिएर तनाव कायम रहेका बेला भएको हो । उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रहार अमेरिका र दक्षिण कोरियाले आगामी सातादेखि वार्षिक ठूलो सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको दुई दिनपछि भएको हो । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको उद्देश्य उत्तर कोरियाबाट उत्पन्न हुन सक्ने सम्भावित खतरासँग सामना गर्न आफ्नो सैन्य तयारी बलियो बनाउनु रहेको बताएका छन् । उक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले लामो समयदेखि विरोध गर्दै आएको छ । प्योङयाङले अमेरिका र दक्षिण कोरियाका संयुक्त सैन्य अभ्यासलाई आफूविरुद्ध सम्भावित सैन्य कारबाहीको तयारीका रूपमा हेर्दै आएको छ । उत्तर कोरियाले यसअघि पनि अमेरिका र दक्षिण कोरियाका ठूला सैन्य अभ्यासका क्रममा वा त्यस आसपासमा विभिन्न हतियार परीक्षण गर्दै आएको छ। यस्ता गतिविधिपछि प्योङयाङबाट कडा चेतावनीसमेत आउने गरेका छन् । त्यसैले बुधबारको संदिग्ध क्षेप्यास्त्र प्रहारलाई पनि क्षेत्रीय सैन्य गतिविधि र आगामी संयुक्त सैन्य अभ्यासको सन्दर्भमा हेरिएको छ । यसअघि गत साता दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियाबाट प्रहार गरिएको छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएका थिए। जुन महिनाको अन्त्यपछि उत्तर कोरियाले गरेको यो पहिलो ब्यालेस्टिक हतियार परीक्षण थियो । त्यसबेला पनि उत्तर कोरियाले उक्त प्रहारको आधिकारिक पुष्टि गरेको थिएन। अहिले एक साताभन्दा कम अवधिमै फेरि संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको हो । जापानको रक्षा मन्त्रालयका अनुसार बुधबार प्रहार गरिएको संदिग्ध क्षेप्यास्त्र समुद्रमा खसेको छ। अमेरिका र दक्षिण कोरियाको वार्षिक संयुक्त सैन्य अभ्यास सुरु हुन लागेका बेला भएको पछिल्लो घटनाले क्षेत्रीय सुरक्षा अवस्थाप्रति थप चासो बढाएको छ । प्याकेजिङ लागत बढेमा त्यसको भार कम्पनीहरूले उपभोक्तामाथि सार्न सक्ने भएकाले आगामी दिनमा पान मसालाको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । नयाँ नियम १० अगस्ट २०२६ मा राजपत्रमा प्रकाशित भएसँगै लागू भएको हो । त्यससँगै पान मसाला उत्पादन गर्ने कम्पनीहरूले आफ्नो प्याकेजिङ व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने भएको छ ।
१८- पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् । रोनाल्डो र जर्जिनाले अगस्ट ११ मा आफूहरूले पोर्चुगलको कास्काइसमा पाँच सन्तानको उपस्थितिमा निजी रूपमा विवाह गरेको पुष्टि गरेका हुन् । यद्यपि, उनीहरूले विवाह भएको वास्तविक स्थान भने सार्वजनिक गरेका छैनन् । रोनाल्डोको निजी निवासमा विवाह भएको हुन सक्ने अनुमान गरिएको छ । विवाह निजी राख्न र सञ्चारमाध्यम तथा क्यामेराबाट टाढा रहन रोनाल्डोको आफ्नै निवास रोजिएको हुन सक्ने बताइएको छ । रोनाल्डो र जर्जिनाको विवाह उनीहरूको प्रेम सम्बन्धको अर्को महत्वपूर्ण चरणका रूपमा आएको हो । जर्जिनाले सन् २०२५ को अगस्ट ११ मै सामाजिक सञ्जालमार्फत रोनाल्डोसँग आफ्नो विवाह तय भएको सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीहरूका समर्थक विवाहको मिति र स्थानबारे जानकारीको प्रतीक्षामा थिए । रोनाल्डोले यसअघि विश्वकपपछि विवाह गर्ने इच्छा रहेको बताएका थिए । तर उनले निश्चित मिति सार्वजनिक गरेका थिएनन् । त्यसपछि विवाहको सम्भावित मितिलाई लिएर विभिन्न अनुमान हुन थालेका थिए । सन् २०२६ को अगस्ट महिनाका पहिलो दुई शनिबारलाई समेत सम्भावित विवाहको मितिका रूपमा हेरिएको थियो। विवाह कहाँ हुने भन्ने विषयमा पनि विभिन्न अनुमान सार्वजनिक भए । विवाहसम्बन्धी हल्ला यति धेरै फैलिएको थियो कि केही समर्थक रोनाल्डो र जर्जिनाको विवाह भएको अनुमान गरिएको एउटा समारोहस्थल नजिकैसमेत पुगेका थिए । पछि उक्त समारोह रोनाल्डो तथा जर्जिनासँग कुनै सम्बन्ध नभएको खुलेको थियो । रोनाल्डो र जर्जिनाले भने अन्ततः अगस्ट ११ मा आफ्नो विवाह भएको पुष्टि गरेका छन् ।
१९- कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा २५४ पुगेको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजीलाई तीव्र बनाएका छन् । ७.४ म्याग्निच्युडको भूकम्प सोमबार बिहान गएको थियो । यसलाई यस शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा विनाशकारी भूकम्पका रूपमा लिइएको छ । भूकम्पका कारण देशको कफी उत्पादन हुने मुख्य क्षेत्रमा रहेका आवासीय भवन, घर, विद्यालय तथा स्वास्थ्य केन्द्रमा ठूलो क्षति पुगेको छ। कतिपय भवन चर्किएका छन् भने केही ढलेका छन् । प्रभावित विभिन्न सहरबाट प्राप्त विवरणअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या २५४ पुगेको छ । कफी उत्पादनको प्रमुख क्षेत्र पेरेरामा मात्रै १०१ जनाको मृत्यु भएको छ भने देशको तेस्रो ठूलो सहर कालीमा ९५ जनाको ज्यान गएको छ। भूकम्पको केन्द्रबिन्दु नजिकै पर्ने प्रशान्त महासागर किनारको चोको क्षेत्रमा रहेका धेरै आदिवासी बस्ती अझै विद्युत् तथा आधारभूत सेवाबाट वञ्चित छन् । यसले उद्धार तथा राहत कार्यमा थप कठिनाइ उत्पन्न भएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिस फसेका हुन सक्ने आशंकामा खोजी गर्दा केही समय पूर्ण शान्त रहन आग्रह गर्दै आवाज सुन्ने प्रयाससमेत गरिरहेका छन् । सोमबार रातिदेखि मंगलबारसम्म उनीहरूले ठूला यन्त्र, उत्खनन उपकरण र आफ्नै हातको प्रयोग गरेर भग्नावशेष हटाइरहेका छन्। उद्धारकर्मीहरूले मानव शृंखला बनाएर बाल्टिनमा भग्नावशेष निकाल्दै खोजी अभियान अघि बढाएका छन् । भूकम्प गएलगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । उनले घर गुमाएका नागरिकलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले सत्ता सम्हालेपछि तत्काल मितव्ययिता उपाय घोषणा गरेको थियो। अहिले यसअघिको वामपन्थी सरकारले तयार पारेको १८० अर्ब अमेरिकी डलरभन्दा बढीको बजेट पुनरावलोकन गर्ने तयारी भइरहेको छ । कोलम्बिया विभिन्न ठूला भूगर्भीय प्लेटको संगम क्षेत्रमा अवस्थित भएकाले विश्वकै बढी भूकम्पीय जोखिम भएका मुलुकमध्ये पर्छ । यद्यपि, यहाँ आउने धेरै भूकम्प जमिनको निकै गहिराइमा उत्पन्न हुने भएकाले सतहमा आइपुग्दा त्यसको प्रभाव तुलनात्मक रूपमा कम हुने गरेको छ । पछिल्लो एक सय वर्षमा कोलम्बियामा ७ म्याग्निच्युडभन्दा माथिका भूकम्प निकै कम गएका छन् ।
२०- इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै बुधबार यात्रुवाहक पानीजहाजमा आगलागी भएपछि उद्धारकर्मीहरूले उद्धार कार्य तीव्र बनाएका छन् । खराब मौसम र समुद्रमा ठूलो छालका बीच उद्धारकर्मी तथा आसपासबाट गुज्रिरहेका अन्य पानीजहाजले १०६ जनालाई सुरक्षित निकालिसकेका छन् । पानीजहाजमा अझै २५ जना रहेको र उनीहरूको उद्धारका लागि प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् । समुद्रमा करिब ४ मिटर अग्ला छाल उठिरहेकाले उद्धार कार्य निकै कठिन बनेको छ । खोज तथा उद्धार कार्यालयका अनुसार बालीको पादाङ बाई बन्दरगाहबाट पश्चिम नुसा तेङ्गारा प्रान्तअन्तर्गत छिमेकी लोम्बोक टापुको लेम्बर बन्दरगाहतर्फ गइरहेको ‘पुत्री यास्मिन’ नामक पानीजहाजमा आगलागी भएको थियो । आगलागी भएको करिब आधा घण्टापछि आपत्कालीन सूचना प्राप्त भएपछि उद्धार कार्यालयले तत्काल उद्धारकर्मी तथा उद्धार पानीजहाज परिचालन गरेको थियो । उद्धार कार्यमा इन्डोनेसियाली नौसेनाका पानीजहाज, गस्ती नौका तथा उद्धार पानीजहाज परिचालन गरिएको छ। घटनास्थलको हवाई निरीक्षणका लागि हेलिकप्टरसमेत प्रयोग गरिएको अधिकारीहरूले बताएका छन्। पादाङ बाई बन्दरगाह प्राधिकरणले उपलब्ध गराएको यात्रु विवरण उद्धृत गर्दै हरियादीले पानीजहाजमा ११४ यात्रु र १७ जना चालक दलका सदस्य रहेको बताएका छन्। पानीजहाजमा ४४ वटा सवारीसाधन र ५३ वटा मोटरसाइकलसमेत रहेका थिए । इन्डोनेसिया १७ हजारभन्दा बढी टापु रहेको मुलुक हो । यहाँ एक टापुबाट अर्को टापुमा आवतजावत गर्न पानीजहाज र नौका व्यापक रूपमा प्रयोग हुन्छन् । तर कमजोर सुरक्षा व्यवस्थाका कारण यहाँ पानीजहाज दुर्घटना र अन्य विपद्का घटना बारम्बार हुने गरेका छन्।




