नोभोरोसिस्कस्थित रुसी नौसैनिक अड्डामा आक्रमण गरेको युक्रेनको दाबी

काठमाडौँ । युक्रेनले रुसी नौसेनाको महत्वपूर्ण केन्द्रमा युक्रेनी सेनाले आक्रमण गरेको दाबी गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार युक्रेनी मानवरहित हवाई साधन, क्षेप्यास्त्र र मानवरहित नौसैनिक साधन प्रयोग गरी रुसको नोभोरोसिस्कस्थित नौसैनिक अड्डा तथा बन्दरगाहका महत्वपूर्ण संरचनालाई निशाना बनाइएको हो ।

जेलेन्स्कीले युक्रेनका सुरक्षा तथा रक्षा बलले नोभोरोसिस्कस्थित नौसैनिक अड्डामा विशेष कारबाही गरेको बताएका छन्। उनका अनुसार उक्त अड्डा कृष्ण सागरमा रुसी नौसेनाको अन्तिम प्रमुख केन्द्रमध्ये एक हो र यो युद्धको अग्रपङ्क्तिबाट ३०० किलोमिटरभन्दा बढी टाढा रहेको छ।

उनले जेट इन्जिनयुक्त ‘पालियानित्सिया’ मानवरहित हवाई साधन, ‘नेप्च्युन’ क्षेप्यास्त्र तथा मानवरहित नौसैनिक साधनबाट निर्धारित लक्ष्यमा सफलतापूर्वक आक्रमण गरिएको दाबी गरेका छन्। हवाई रक्षा केन्द्र, जहाज आवतजावत गर्ने घाट तथा बन्दरगाहका महत्वपूर्ण संरचनामा आक्रमण भएको पुष्टि भएको उनको भनाइ छ ।

आक्रमणमा संलग्न युक्रेनी सशस्त्र बल, सुरक्षा सेवा तथा गुप्तचर निकायका सदस्यलाई सफल कारबाहीका लागि धन्यवाद दिएका छन् । उनले रुसको आक्रमण जारी रहेसम्म रुसी नौसेना र त्यसलाई सहयोग गर्ने कुनै पनि संरचना सुरक्षित नरहने चेतावनीसमेत दिएका छन्। युद्ध अन्त्य हुनुपर्ने र कूटनीतिक समाधानका लागि उपयुक्त सबै प्रस्ताव वार्ताको टेबुलमा रहेको उनको भनाइ छ ।

यसअघि युक्रेनको विदेश मन्त्रालयले लामो दूरीमा आक्रमण गर्न सक्ने क्षमता विस्तार भएको दाबी गर्दै रुसका महत्वपूर्ण संरचनालाई निशाना बनाएको जनाएको थियो ।

युक्रेनले रुसको साइबेरिया क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ। उक्त केन्द्र युक्रेनबाट २ हजार ५०० किलोमिटरभन्दा बढी टाढा टोबोल्स्क सहरमा रहेको बताइएको छ ।

युक्रेनी विदेश मन्त्रालयले युक्रेनको लामो दूरीमा आक्रमण गर्ने क्षमताले नयाँ स्तर हासिल गरेको दाबी गर्दै रुसको तेल प्रशोधन उद्योगको अर्को महत्वपूर्ण केन्द्रलाई निशाना बनाइएको जनाएको छ ।

images

युक्रेनले पछिल्लो समय रुसभित्र रहेका टाढाका सैन्य तथा रणनीतिक संरचनालाई निशाना बनाउँदै आएको छ। रुसी पक्षबाट भने यी दाबीबारे विस्तृत प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।