
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार समूहले पूर्णता पाएको हो । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन् । यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए । नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन् । मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा आवश्यक सुझाव र परामर्श दिनेछन् । सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।


२- स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन बिहिबार साँझ टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुगेको छ । यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिनसमेत केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको हो । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिनहरू सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ । सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक यी सामग्री प्राप्त भएपछि देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ ।

३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थबाङ गाउँपालिका–५ कोटलाबाङमा गएको पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह गरेको छ । रास्वपाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार र बेपत्ताको खोजीलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । पछिल्लो २४ घण्टामा रोल्पासहित देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको भन्दै उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयको प्रयासको प्रशंसा गरेको छ । विपद् आएपछि मात्रै राज्य संयन्त्र सक्रिय हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्दै रास्वपाले पूर्वतयारी र जोखिम न्यूनीकरणमा सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र उपचारको व्यवस्था गर्न तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गरेको छ । निरन्तर वर्षाका कारण सडक, बस्ती र नदी आसपासका क्षेत्र जोखिममा रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाले नागरिकलाई आग्रह गरेको छ । साथै, विपद्पूर्व तयारी र विपद्पछिको उद्धार तथा राहतमा राज्यका संयन्त्रलाई सहयोग गर्न पार्टीका सबै तहका संयन्त्रलाई चौबीसै घण्टा तयार रहन महामन्त्री विपिनकुमार आचार्यले आग्रह गरेका छन् ।
४- जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । विहिबार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो । प्रहरीले उनलाई बुधबार राति ललितपुरबाट पक्राउ गरेको हो ।

५- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापन अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । साथै, विद्यमान कानुनी व्यवस्थाका विषयमा आवश्यक राय र सुझाव लिएर थप छलफल भइरहेको जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंकको तरलता तथा अन्य वित्तीय सबलताका सूचकहरू निर्धारित मापदण्डअनुसार सन्तोषजनक अवस्थामा छन् । त्यसैले अहिले बैंकको दैनिक कामकारबाहीमा कुनै समस्या आउने अवस्था नरहेको स्पष्ट पारेको छ । जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको प्रकृति, अवधि र गम्भीरतासहित बैंकको दैनिक अवस्थालाई समेत हेरेर आवश्यक कानुनी राय लिइने राष्ट्र बैंकले जनाएको छ। त्यसपछि कानुनबमोजिम बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा सञ्चालनका सम्बन्धमा आवश्यक कदम चालिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
६- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । विहिबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन् । एमालेले गत असार ३१ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका शाहले आजसम्म विश्वासको मत लिनुपर्ने समयसीमा थियो । केन्द्रमा भएको सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्री बन्ने बताइएको छ ।

७- दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नयाँ मिति तोकिएको छ । विहिबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो । प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार तथा अन्य तयारी पूरा नभएको लगायतका कारण यसअघि तय गरिएका मितिमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । यो खेलकुद प्रतियोगिता पाँचौं पटक सरेको हो ।
८- रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । पहिरोमा परी ८ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन् । पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ । बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर रहेका छन् । घटनास्थलमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
९- जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको पहिलो भ्रमणलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै कडा आपत्ति जनाएकी छन् । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार कुरिल टापु शृङ्खलाको इटुरुप टापुको भ्रमण गरेका थिए । जापानले उक्त टापुलाई एतोरोफु नामले चिन्ने गर्दछ र यो जापान तथा रुस दुवैले आफ्नो दाबी गर्ने चार विवादित टापुमध्ये एक हो । प्रधानमन्त्री ताकाइचीले पुटिनको भ्रमणले जापानी जनतामा रुसप्रतिको धारणा थप नकारात्मक बनेको बताउँदै ती टापुहरू ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुनअनुसार जापानको अभिन्न भूभाग भएको दाबी गरिन् । जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले पनि पुटिनको भ्रमणप्रति औपचारिक विरोध जनाएका छन् । कुरिल टापुहरू उत्तरी जापानको होक्काइदो र रुसको कामचाट्का प्रायद्वीपबीच अवस्थित छन् । दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सङ्घले टापुहरू आफ्नो नियन्त्रणमा लिएपछि जापान र रुसबीच दशकौँदेखि भूभागसम्बन्धी विवाद जारी छ । यही विवादका कारण दुई देशले दोस्रो विश्वयुद्धपछि औपचारिक शान्ति सन्धिसमेत गर्न सकेका छैनन् । पुटिनले भ्रमणका क्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्नुका साथै समुद्री माछाको अण्डाको परिकार चाखेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । रुसले पछिल्लो दशकमा यी टापुहरूमा आफ्नो सैन्य उपस्थिति उल्लेख्य रूपमा बढाएको छ। इटुरुप टापु यस क्षेत्रमा रुसको प्रमुख सैन्य हवाई अड्डाका रूपमा प्रयोग हुँदै आएको छ । युक्रेनमाथि रुसको आक्रमणपछि जापानले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको छ, जसका कारण दुई देशबीचको सम्बन्ध थप चिसिएको छ । यसअघि पनि रुसी प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीले विवादित टापुको भ्रमण गर्दा जापानले पटकपटक विरोध जनाउँदै आएको छ । रुसले ती टापु आसपास नियमित सैन्य अभ्यास गर्दै आएको विषयमा पनि जापानले आपत्ति जनाउँदै आएको छ ।
१०- आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । श्रेष्ठलाई साउन २७ गते राति पक्राउ गरी निवासमा खानतलासी गरिएको तथा भोलिपल्ट सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाबारे काउन्सिलले चासो जनाएको हो । काउन्सिलले कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा त्यससम्बन्धी उजुरी काउन्सिलमा दिन सकिने स्पष्ट पारेको छ । समाचारमा चित्त नबुझे खण्डन, भुलसुधार, क्षमायाचनालगायत प्रक्रियाबाट समाधान खोज्ने तथा आवश्यक कारबाही गर्ने अधिकार काउन्सिलसँग रहेको जनाएको छ । प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान गर्नुपर्नेमा जोड दिँदै काउन्सिलले पत्रकारले पनि सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्नुपर्ने जनाएको छ। प्रेस स्वतन्त्रताको नाममा स्वेच्छाचारिता हुन नदिन पत्रकार तथा सञ्चारमाध्यम पनि आफ्नो व्यावसायिक मर्यादाप्रति जिम्मेवार हुनुपर्ने काउन्सिलको भनाइ छ । काउन्सिलले भनेको छ- ‘नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य हो । प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्दछ । काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकार÷सञ्चारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार तथा पेसागत मर्यादा एवं आचरणप्रति पनि उत्तिकै चिन्तित छ । प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दतातर्फ सबै पत्रकार÷सञ्चारकर्मी सचेत हुनैपर्दछ । सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ सजगता अपनाउनै पर्दछ ।’ काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको भन्दै कुनै समाचारप्रति चित्त नबुझे कानुनी तथा स्थापित प्रक्रियामार्फत प्रेस काउन्सिलमा उजुरी दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

११- नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज विहिबार नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड २ लाख २५ हजार ८७४ कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मा कारोबार भएको थियो । आज लगानी र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर १०.४५ प्रतिशतले बढेको । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २९ करोड ९८ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।
१२- उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ । विभागका अनुसार होटलमा मात्रै करिब १८४ वटा ग्यास सिलिन्डर फेला परेका छन् । पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो । सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएका हुन् । विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् । त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको समेत पाइएको विभागले जनाएको छ । उपभोक्ताका लागि बजारमा ग्यासको अभाव देखिएका बेला होटलले ठूलो परिमाणमा ग्यास मौज्दात राखेको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यवसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथि निगरानीलाई थप कडाइ गर्ने जनाएको छ ।
१३- भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरका रहेका एक भूमिहीन सुकुम्बासी मृत अवस्थामा भेटिएका छन् । बिहीबार बिहान करिब पौने ११ बजे तालिम केन्द्रको दोस्रो तलाको कोठा नम्बर २०७ मा मृत अवस्थामा भेटिएको बताइएको छ । त्यसपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित सुरक्षाकर्मी पुगे पनि सुकुम्बासीले शव उठाउन नदिएपछि उनीहरु फर्किएका थिए । पासवान श्रीमती र छोरा, बुहारीसहित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । श्रीमती बारा गएको बेला कोठामा एक्लो परेका पासवानले ज्यान लिएको आशंका गरिएको छ ।
१४- करिब पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको बताएका छन् । स्वदेश फर्किएपछि जारी सन्देशमा उनले आफ्नो स्वास्थ्यप्रति चासो र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै आफू देश र जनताको सेवामा समर्पित रहन चाहेको बताएका छन् । देउवाले युवा पुस्ताले उठाएको परिवर्तनको मागलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका छन् । गत भदौको युवा आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको उल्लेख गर्दै उनले परिवर्तन आवश्यक भए पनि विगतका पुस्ताको त्याग, संघर्ष र योगदानलाई नकारात्मक रूपमा प्रस्तुत गर्न नहुने बताए । परिवर्तनलाई विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ छ । वर्तमान सरकारलाई जनताको परिवर्तनको आकांक्षा पूरा गर्ने जिम्मेवारी रहेको भन्दै देउवाले जनमतको सम्मान गर्न आग्रह गरेका छन् । उनले सरकार राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्नुपर्ने बताए । साथै, संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने तथा सबै राजनीतिक दलबीच सहमति र सहकार्य आवश्यक रहेको धारणा राखेका छन् । कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै देउवाले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । युवा पुस्ता नेतृत्वमा आउनुपर्ने भए पनि अनुभवी पुस्तालाई पूर्ण रूपमा गलत ठहर गर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ छ । आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व रहेको उल्लेख गर्दै उनले विगतमा पार्टीभित्रका विवाद तथा मुलुकका जटिल राजनीतिक अवस्थामा मिलाप गराएको अनुभव आगामी दिनमा उपयोग गर्ने बताएका छन् । देउवाले आफू पद वा शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता बलियो बनाउन फर्किएको बताएका छन् । विगतका विभाजन र विद्वेष अन्त्य गरी मेलमिलापको बाटो रोज्नुपर्नेमा जोड दिँदै उनले राष्ट्र, लोकतन्त्र, संविधान, कानुन र जनताको हितलाई जीवनभर सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू नेता भएर नभई राष्ट्रको आजीवन नागरिकका रूपमा सेवा गर्न तयार रहेको उनको भनाइ छ ।

१५- चीनको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ । आज बिहान करिब ६: ३० बजे लिपिङको पारिपट्टि चीनतर्फको भिरबाट ढुंगामाटोसहितको पहिरो खसेपछि भोटेकोशीको बहाव प्रभावित भएको छ । पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति रोकिएको बताइएको छ । नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने र विपद्जन्य घटना हुनसक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी ड्यामसाइट, झोलुङ्गे, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे र बलेफी बजार क्षेत्रका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । पहिरोका कारण नदीको बहावमा थप परिवर्तन हुनसक्ने भएकाले भोटेकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।
१६- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामन्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५ सयले घटेर तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ६ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर तोलाको ४७५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४७४५ मा कारोबार भएको थियो ।
१७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यही महिनाको अन्त्यमा पद छाड्ने घोषणा गरेका छन्। २८ वर्षीया लेभिट ह्वाइट हाउसको प्रेस सचिव बन्ने सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत लेभिटलाई आफ्ना सबैभन्दा विश्वासिला सहयोगीमध्ये एक भन्दै उनले आफ्ना छोराछोरी र परिवारसँग बढी समय बिताउन पद छाड्न लागेको बताएका छन् । ट्रम्पले उनको निर्णयलाई आफूले बुझ्ने र सम्मान गर्ने बताएका छन् । ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानकी प्रमुख समर्थक रहेकी लेभिट अब ट्रम्पकी प्रमुख बाह्य सल्लाहकारका रूपमा रहनेछिन् । साथै, रिपब्लिकन पार्टीभित्र पनि उनको प्रभावशाली भूमिका रहने बताइएको छ । गत मे महिनामा दोस्रो छोरी जन्मिएपछि लेभिट केही समयअघि मात्रै ह्वाइट हाउसको काममा फर्किएकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत प्रेस सचिवको जिम्मेवारी सम्हाल्दा आफ्ना छोराछोरीका लागि आफूले चाहेजस्तो असल आमा बन्न नसकेको महसुस भइरहेको बताएकी थिइन् । ट्रम्पले लेभिटको स्थानमा नयाँ प्रेस सचिव कसलाई नियुक्त गर्ने भन्नेबारे भने कुनै योजना सार्वजनिक गरेका छैनन् ।
१८- जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको छ । पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरीको टोली कार्यालय पुगेर छापा मारेको र कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर गएको त्यहाँ कार्यरत एक कर्मचारीले जानकारी दिएका छन् । यसअघि प्रहरीले बुधबार साँझ पत्रकार श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली श्रेष्ठलाई वैक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
१९- समाचार लेखेकै आधारमा जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति जनाएको छ । सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा पत्रकारले प्रकाशित गरेको समाचारमा कसैलाई गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको उल्लेख गरिएको छ । नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ रहेको भन्दै सोसाइटीले पत्रकारलाई समाचार प्रकाशनकै कारण पक्राउ गर्ने वा अनुसन्धानका नाममा दुःख दिने कार्यले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने जनाएको छ । प्रकाशित समाचारसँग सम्बन्धित कानुनी प्रश्न भए कानुनी उपचार खोज्नुपर्नेमा जोड दिँदै सोसाइटीले पत्रकारको व्यावसायिक अधिकार र प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । नेपाल मिडिया सोसाइटीले वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै प्रकाशित समाचारका विषयमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति आफू सधैँ सचेत, प्रतिबद्ध र खबरदारीमा रहने सोसाइटीले जनाएको छ ।
२०- पिएसजीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली सुपर कपको उपाधि जितेको छ । साल्जबर्गमा भएको रोमाञ्चक खेलमा पिएसजीले दोस्रो हाफमा निर्णायक गोल गर्दै उपाधि आफ्नो नाममा गरेको हो । पिएसजीका लागि ख्विचा क्वारात्स्खेलियाले खेलको २०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिनुअघि नै एस्टन भिल्लाले बराबरी गोल फर्कायो । १७ वर्षीय ब्रायन माड्जोले ४५औँ मिनेटमा जोन म्याकगिनको क्रसमा उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए । माड्जो सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीसमेत बनेका छन् । उनले पिएसजीविरुद्धको खेलबाटै प्रतियोगितामा पहिलोपटक खेल्ने अवसर पाएका थिए । एस्टन भिल्लामा आबद्ध भएपछि खेल्न पाउने विषयमा लामो समय कानुनी प्रक्रिया चलेको थियो । विश्व फुटबलको सर्वोच्च निकायले उनलाई खेलाडी दर्ता गर्न रोक लगाएपछि एस्टन भिल्लाले खेलकुदसम्बन्धी मध्यस्थता अदालतमा अपिल गरेको थियो । अगस्टको सुरुआतमा अपिल सफल भएपछि उनले प्रतिस्पर्धात्मक खेल खेल्ने बाटो खुलेको थियो । दोस्रो हाफमा पिएसजीले दबाब बढायो । खेलको ६२औँ मिनेटमा डेजिरे डुएले गोल गर्दै पिएसजीलाई फेरि अग्रता दिलाए । सुरुमा अफसाइडको आशंका गरिए पनि भिडियो सहायक रेफ्रीको जाँचपछि गोललाई मान्यता दिइएको थियो । त्यसपछि एस्टन भिल्लाले बराबरीका लागि लगातार प्रयास गरे पनि पिएसजीका गोलरक्षक मातवे साफोनोभले केही महत्वपूर्ण बचाउ गरेका थिए । पिएसजीले गत वर्ष टोटनहमलाई पेनाल्टीमा पराजित गर्दै पहिलोपटक सुपर कपको उपाधि जितेको थियो । यसपटक एस्टन भिल्लालाई हराउँदै उसले लगातार दोस्रो उपाधि हात पारेको हो । यस खेलमा सोमालियाका उमर आर्तनले पनि इतिहास बनाए । उनी सुपर कपको फाइनल खेलाउने पहिलो गैरयुरोपेली रेफ्री बने । यसअघि उनलाई यसै वर्षको विश्वकपका लागि अमेरिका प्रवेश गर्न अनुमति दिइएको थिएन ।




