
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर बिक्री गर्नेछन् । निगमका अनुसार निगमको टेकु परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास, यातायात कार्यालय परिसर, चाबहिलमा नेपाल र एचपी ग्यास, राधास्वामी, कपन/बालुवा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास, राधास्वामी, वसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास, पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल , नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने भएको छ । निगमले तोकिएको स्थानमा पुगेर सम्बन्धित ब्रान्डका ग्यास सिलिन्डर खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।


२- नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्काले मधेशमा भएको पछिल्लो घटना ट्रेलर मात्रै भएको टिप्पणी गरेका छन् । संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खड्काले मधेशमा हालै भएको घटना ट्रेलर भएको र फिल्म सुटिङ हुनै बाँकी रहेको बताएका हुन् । उनले भने- ‘हामीले २४ गते सम्झियौं भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी नराखी त्यो दिनबाट सुरु भएको रोडम्याप जारी छ । चाहे विशेष महाधिवेशनको नाममा होस्, चाहे २१ फागुनको चुनावको नाममा होस् । त्यसलाई रोक्न सकेनौं भने मधेशमा हालै भएको जातिय द्वन्द्वको घटनाले देशलाई थरथर बनाएको अवस्था छ । मेरो अन्तरआत्माले भन्छ, त्यो ट्रेलर हो । फिल्म सुटिङ हुनै बाँकी छ ।’ खड्काले कांग्रेस एक नभए देश आज संकटमा जाने बताउदै शेर बहादुर देउवाको नेतृत्वमा नै कांग्रेसको एकता हुनुपर्ने बताए । उनले अहिले कांग्रेसको विवाद भनेको अवैधानिक विशेष महाधिवेशन भएको बताए । १४औं महाधिवेशनको केन्द्रीय समितिलाई मान्यता नदिए कांग्रेस विभाजन हुने बताउदै देशपनि संकटमा पर्ने बताए ।

३- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेको बताएका छन् । कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेकोले कांग्रेसको विभाजन रोक्नुपर्ने बताएका हुन् । यो भेला कांग्रेसलाई एकढिक्का बनाउन यो भेला आयोजना गरिएको बताउदै आफुलाई कांग्रेस एक हुनेमा विश्वास रहेको बताए । देश संकटमा परेको बताउदै नेता कोइरालाले संसद ठिक ढंगले नचलेको टिप्पणी गरेका छन् । उनले प्रेस स्वातन्त्रता खतरामा परेको बताउदै उनले न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिए । प्रहरीले घर घरमा गएर खानतलासी गरिरहेको बताउदै प्रजातन्त्रमा यस्तो हुन नसक्ने बताए ।
४- संघीय संसद सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष माननीय लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सदस्यहरूको सहभागिता रहेको थियो । संसद भवन परिसरलाई प्राकृतिक रूपमा समेत सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताए । उनले सांसदहरूले आफूले रोपेको बिरुवाको कार्यकालभरि निरन्तर हेरचाह र संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘आफूले रोपेको बिरुवालाई कार्यकालभरि निरन्तर रूपमा हेरचाह र संरक्षण पनि गर्नुपर्नेछ,’ सभामुख अर्यालले भने । नयाँ संसद भवन निर्माण परियोजनाअन्तर्गत बगैँचा व्यवस्थापन शीर्षकमा संसद परिसरमा रोपिने विभिन्न प्रजातिका बोटबिरुवा तथा तिनको स्थानसमेत निर्धारण गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूले करिब ५०० वटा विभिन्न प्रजातिका बिरुवा रोपेका थिए । कार्यक्रममा एभोकाडो, आरु, आरुबखडा, आँप, लिची, अम्बा, नासपाती, कपुर, बेलपत्र, बुद्धचित्त, रुद्राक्ष, तेजपात, ज्यामिरकाँड, हलुवाबेद, निम, पैयुँ, समी, गुलमोहरलगायतका फलफूल, औषधिजन्य तथा सौन्दर्यमूलक प्रजातिका बिरुवा रोपिएको थियो ।

५- स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८२ माघ र फागुन महिनामा प्रदान गरिएको स्वास्थ्य सेवाबापत उक्त रकम भुक्तानी गरिएको हो। रकम पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल, निजी तथा शिक्षण अस्पतालसमेत रहेका छन् । भुक्तानी विवरणमा ठूला अस्पतालदेखि दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालसम्मका स्वास्थ्य संस्था समेटिएका छन् । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले पेस गरेका दाबीको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो ।
६- सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ गर्दै नयाँ मापदण्ड लागू गरेको छ । वैदेशिक भ्रमणलाई व्यवस्थित, उद्देश्यपूर्ण र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ व्यवस्था लागू गरेको हो । कार्यालयले सबै मन्त्रालय, आयोग तथा सरकारी निकायलाई परिपत्र जारी गर्दै कर्मचारीलाई वैदेशिक भ्रमणमा पठाउनुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिन निर्देशन दिएको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृति नलिई कर्मचारीको वैदेशिक भ्रमणका लागि मनोनयन गर्न पाइने छैन। पूर्वस्वीकृतिबिना हुने भ्रमण तथा मनोनयनलाई रोक्ने गरी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारी निकायलाई निर्देशन दिइएको छ । यसैगरी, वैदेशिक भ्रमणबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई सरकारी संयन्त्रभित्रै उपयोग गर्न पनि नयाँ व्यवस्था गरिएको छ । वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्किएका कर्मचारीले आफूले सिकेका विषय तथा असल अभ्यास आफ्ना सहकर्मीसँग अनिवार्य रूपमा आदानप्रदान गर्नुपर्नेछ । नयाँ मापदण्डअनुसार वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका सहकर्मीबीच सिकाइ तथा अनुभव आदानप्रदान गरिसक्नुपर्नेछ । यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायको निगरानीसमेत बढाएको छ । सरकारले नयाँ व्यवस्थाले अनावश्यक वैदेशिक भ्रमण नियन्त्रण हुनुका साथै भ्रमणको उद्देश्य, उपलब्धि र त्यसबाट प्राप्त ज्ञानको उपयोग सुनिश्चित हुने अपेक्षा गरेको छ ।

७- ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ । नेता डा. धवलशमशेर राणासहित उनी पक्षका नेताहरु शुक्रबार आयोग पुगेर दल दर्ता गरेका हुन् । आयोगले जय नेपाल पार्टीलाई त्रिभुज चुनाव चिन्ह दिएको छ । राष्ट्रवादी पार्टी निर्माणका क्रममा ‘नागरिक बचाउ महाअभियान’सँग भएको सहमतिअनुसार दल दर्ता प्रक्रियामा उक्त अभियानसमेत सहभागी हुने तयारी गरिएको भएपनि दुर्गा प्रसाई भने आजको दल दर्ता कार्यक्रममा सहभागी भएनन् । तत्काल दल दर्ता गर्न प्रसाई र राणाबीच फरक धारणा बनेपछि अहिले राणाले मात्र दल दर्ता गरेका हुन् । प्रसाईले तत्काल दल दर्ता गर्न हतार गर्न नहुने बताएका छन् । दल दर्तापछि पार्टी सभापति धवलशमशेर राणाले केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरू क्रमिक रूपमा विस्तार गर्ने बताएका छन् । साथै राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेशको पूनर्संरचना, भ्रष्टाचारको न्यूनीकरण र सुशासन चाहने सबै नेपालीलाई एकजुट भएर अघि बढ्न आह्वान गर्दै आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई सम्पर्क गर्न, पार्टीमा आबद्ध भएर तयारीसाथ अघि बढ्न समेत आग्रह गरेका छन् ।
८- मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ । नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट सिधै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ । एकदिवसीय फर्म्याटमा हुने एसीसी प्रिमियर कप अगस्ट ३० देखि मलेसियामा सुरु हुँदैछ । क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । जसमा भीम सार्की, नन्दन यादव, कुशल भिर्तेल, सोमपाल कामी लगायतका खेलाडीलाई बाहिर राखिएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् । यस प्रतियोगितामा नेपालले पहिलो खेल अगस्त ३१ मा बहराइनसँग खेल्ने छ भने दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ ।
९- रोल्पाको सुनछहरी गाउँपालिका–२ का फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो पटक थप एक जनाको शव फेला परेसँगै पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको हो । सुनछहरी गाउँपालिका–२ मङरारुकी करिब ६४ वर्षीया लामी घर्ती पहिरोमा परी बेपत्ता भएकी थिइन् । उनको खोजी गर्ने क्रममा शुक्रबार दिउँसो २: ३० बजे भान्साघरमा पहिरोले पुरिएको अवस्थामा शव फेला परेको हो । लामी घर्तीको शव फेला परेसँगै फलबाङ र मङरारुमा पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको छ । उक्त घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ ।
१०- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त भट्टलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) अनुसार आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । केन्द्रमा भएको एमालेसँगको सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णालीको मुख्यमन्त्री पाएको छ । सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने बताइएको छ । एमालेबाट सन्तोष कुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बम भट्ट नेतृत्वको सरकारमा मन्त्री हुने भएका छन् ।


११- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालसहित प्रा.डा. विकास नकर्मी र बालचन्द्र लुइँटेलको नाम नाम सिफारिस गरेको थियो । सरकारले गत वैसाखमा अध्यादेशमार्फत केयूका उपकुलपति अच्युत वाग्लेलाई हटाएको थियो। त्यसपछि गत जेठ १९ गते बसेको केयूको सभाले शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो । समितिमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्य रहेका थिए ।
१२- नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मा कारोबार भएको थियो । आज जीवन वीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सुपर खुदी हाइड्रोको शेयर १२.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कृषि विकास बैंक बण्डको ७० करोड ८७ लाख बराबरको कारोबार भएको छ भने खानीखोला हाइड्रोको १७ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।
१३- गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका छन् । शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि रास्वपा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउदै उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका हुन् । उनले भने- ‘अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु । जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ । दिस इज नट राइट, दिस इज नट गुड ।’ उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने भन्दै उनले भने- ‘कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन । आरोप हो जो कसैले नि लगाउन सक्यो । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन ।’ गत बुधबार निर्वाचन प्रहरीको पोसाक र अन्य सामग्री खरिदको विषयमा परेको उजुरीको विषयमा सार्बजनिक लेखा समितिमा भएको छलफलमा रास्वपा सांसद खगेन्द्र सुनार आक्रामक रुपमा प्रस्तुत भएको विषय अहिले चर्चामा रहेको छ ।

१४- सभामुख डीपी अर्यालले वर्तमान सरकार असफल हुने कुनै छुट नरहेको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्ने बताउदै सरकारलाई असफल हुने छुट नरहेको बताएका हुन् । उनले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न आग्रह गर्दै पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवर्द्धन र व्यावसायिक हितमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताएका थिए । उनले पर्यटकका लागि सबैभन्दा महत्वपूर्ण विषय सुरक्षा रहेको बताउँदै हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा सुरक्षित वातावरण बनाउनुपर्नेमा जोड दिए । पर्यटकलाई आकर्षित गर्न सेवा, सुविधा र व्यवहारमा सुधार आवश्यक रहेको भन्दै व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । सभामुख अर्यालले काठमाडौँ उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने बताए । अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै पर्यटकका लागि निश्चित क्षेत्रमा छुट्टै बसपार्कको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । प्रस्तावित पर्यटनसम्बन्धी विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको बताउँदै उनले आगामी ५० वर्षलाई ध्यानमा राखेर दीर्घकालीन सोचसहित कानुन निर्माण गर्नुपर्ने बताए । पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई आकर्षित गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको सभामुख अर्यालले बताए । ‘नेपाल वायुसेवा निगम बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,’ उनले भने । विभिन्न विदेशी वायुसेवा कम्पनी नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन विकासलाई प्राथमिकता दिन आग्रह गरे । नेपालको पर्यटन विकासका लागि नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट यथाशीघ्र हटाउन आवश्यक रहेको उनले बताए । यसका लागि पर्यटन व्यवसायीको सहयोग र सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ । सभामुख अर्यालले नेपाली र विदेशी पर्यटकबीच सेवामा कुनै पनि प्रकारको विभेद गर्न नहुनेमा पनि जोड दिए । हवाई टिकटदेखि होटल तथा अन्य पर्यटन सेवासम्म समान व्यवहार हुनुपर्ने उनले बताए । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई अझ बलियो, व्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्ने भन्दै उनले पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने गरी संस्थालाई सुदृढ बनाउनुपर्ने बताए । भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन तथा उपयोगबारे पनि गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ । पछिल्लो निर्वाचनमा जनताले ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै सभामुख अर्यालले अब सरकार असफल हुने अवस्था नरहेको बताए । मुलुक समृद्ध बनाउनुपर्ने र सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
१५- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका छन् । बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले देउवाको अभिमतलाई राष्ट्रिय भेलामा पनि प्राथमिकताका साथ उठाउनुपर्ने बताउदै गगन थापाको नेतृत्व स्वीकार नगरेमा गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किने क्रममा दिएको ‘परिवर्तन आत्मसात् गर्ने र युवालाई अघि बढाउने’ अभिव्यक्तिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्न आग्रह गरेका छन् । बिहीबार स्वदेश फर्किएका देउवाले लिखित अपिल जारी गर्दै परिवर्तन आत्मसात् गर्ने र युवालाई अघि बढाउने बताएका थिए । शर्माले कांग्रेसले अहिले परिवर्तन र युवा नेतृत्व दुवैलाई आत्मसात् गर्नुपर्ने बताउदै गगन थापा कांग्रेस सभापति बनेको अवस्थालाई पनि स्वीकार गर्नुपर्ने धारणा राखेका थिए । संस्थापनइतर पक्षले आजदेखि साउन ३१ गतेसम्म काठमाडौँको सुकेधारामा राष्ट्रिय भेला आयोजना गरिरहेको छ ।
१६- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्था र नयाँ नेताहरूको असफलतालाई मात्रै आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन् । भट्टराईले पुराना दलका प्रमुख नेताहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्थालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा रमाउन थालेको बताउदै यसलाई आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन् । भट्टराईले पुराना राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अकर्मण्यता तथा प्रमुख नेताहरूको अयोग्यतालाई आफ्नो उदयको मुख्य आधार बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको बताउदै रवि लामिछाने र बालेन्द्र शाहले पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय तथा सामाजिक आधार स्पष्ट गर्न ध्यान नदिँदा अहिले ओरालो यात्रा सुरु भएको टिप्पणी गरेका छन् । उनले अरूको परीक्षा लिएर रमाइरहेकाहरू अहिले आफ्नै परीक्षामा असफलताको अवस्था देखिरहेको बताउदै नेतृत्वमा टिकिरहन वा शासन लम्ब्याउन बाहिर र भित्रका विरोधीमाथि बदला तथा प्रतिशोधको राजनीति आधार बन्न नसक्ने बताएका छन् । उनका अनुसार पुराना दलले विगतका कमजोरीको समीक्षा नगर्ने, कमजोर हुँदै गएको वर्गीय तथा सामाजिक आधार पुनर्निर्माणमा ध्यान नदिने र नेतृत्वका कमजोरी ढाकछोप गर्ने हो भने समस्या थप गहिरिँदै जाने चेतावनी समेत दिएका छन् । त्यस्तै, नीति, विचार र संगठनको पुनर्गठनबारे छलफल गर्न तयार नहुने तथा पार्टीका समस्या र कमजोरीलाई लुकाएर उही जयजयकार गर्ने भीडलाई लोकप्रियता र शक्तिको स्रोत ठान्ने प्रवृत्ति पनि गलत हुने भट्टराईको भनाइ छ ।
१७- जापानको चिबा प्रान्तमा अत्यधिक वर्षापछि आएको बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । एक जना गम्भीर अवस्थामा रहेको अधिकारीहरूले बताएका छन् । भारी वर्षाका कारण सडक, घर तथा तल्लो भूभाग डुबानमा परेका छन् । मौसम अधिकारीहरूले चिबासहित टोकियो आसपासको कान्तो क्षेत्रमा थप भारी वर्षा, पहिरो र नदीमा पानीको सतह बढ्न सक्ने चेतावनी दिएका छन् । चिबा प्रान्तका केही क्षेत्रमा यसअघि सबैभन्दा उच्च पाँचौँ तहको आपत्कालीन चेतावनी जारी गरिएको थियो । पछि त्यसलाई चौथो तहमा झारिए पनि पहिरो र डुबानको जोखिम कायमै रहेको भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् । यातायात सेवा प्रभावित भएपछि करिब ७ हजार मानिस नारिता विमानस्थलमा रोकिएका छन् भने चिबाका विभिन्न स्थानमा सयौँ मानिसले आश्रय लिएका छन् । बाढीका कारण चिबासहित चार प्रान्तका करिब २४ हजार घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
१८- पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो । त्यस्तै, श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुइटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको ६ वटा सिपियू पनि अदालतमा ल्याउन आदेश दिएको छ । श्रेष्ठलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ । उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा एक महिलाले जाहेरी दिएपछि प्रहरीले बुधबार राति पक्राउ गरेको थियो ।
१९- ब्रोड पिकमा गत जुलाई ३० मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका निर्मल ‘निम्सदाइ’ पुर्जाको शव कठिन उद्धार अभियानपछि बेलायत पुर्याइएको छ । पुर्जाले स्थापना गरेको संस्था एलिट एक्सपेडले उनको शव बेलायत पुर्याइएको जानकारी दिदै पुर्जाको सम्मान तथा सम्झनामा अन्त्येष्टि कार्यक्रम आयोजना गरिने जनाइएको छ । अन्त्येष्टि कार्यक्रम परिवार, आफन्त, साथीभाइ तथा निमन्त्रणा गरिएका अतिथिका लागि मात्र सीमित र निजी हुने बताइएको छ । पुर्जाको परिवारको तर्फबाट अन्त्येष्टिसँग सम्बन्धित सम्पूर्ण तयारी र व्यवस्थापन आयोजक संस्थाले नै गरिरहेको जनाएको छ । परिवारको इच्छाअनुसार अन्त्येष्टिसँग सम्बन्धित कुनै पनि छुट्टै कार्यक्रम, सूचना वा पहल आफैंले आयोजना नगर्न र त्यस्ता सामग्री सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ ।
२०- रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोले घर तथा गोठ पुरिँदा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ । पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन् । पहिरोमा परी बेपत्ता भएका अन्य पाँच जनाको शव भने प्युठानमा फेला परेको हो। फेला परेका शवमध्ये थबाङ गाउँपालिका–५ कोटलबाराका कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, सोही ठाउँका ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भनिने जुनकुमारी पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर रहेका छन् । यसैगरी, पहिरोमा परी थबाङ गाउँपालिका–५ का २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको छ । पहिरोमा परी ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिलबहादुर पुन मगर अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




