आजको मौसम पूर्वानुमान : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
श्रावण ३१ गते, २०८३ मा प्रकाशित
काठमाडौं ।देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ।
हाल देशभर सामान्यतया बदली रही बागमती र गण्डकीका धेरै स्थानमा तथा लुम्बिनी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली–पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी र कर्णालीका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी–तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
महाशाखाले वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।